महामारीमाथि मन्त्रीको मजाक

महामारीमाथि मन्त्रीको मजाक

कोरोना संक्रमणका बिरामीको संख्या दिनानुदिन बढ्दै जाँदा अहिले मुलुक चरम अक्सिजन अभावमा गुज्रिरहेको छ । एकातिर बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको अभाव छ भने अर्कोतिर अस्पतालमा बेड नपाउँदा उपचार नपाएर संक्रमित बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था छ ।

यस्तो बेला बिरामीको उपचारमा आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने जिम्मेवारी र दायित्वमा रहेका सरकारका मन्त्रीहरु भने सस्तो लोकप्रियताको पछाडि दौडिएका छन् । नीतिगत निर्णय गरेर मुलुकमा बढेको स्वास्थ्य संकट समाधान गर्नुपर्ने जिम्मेवारीमा रहेका मन्त्रीहरु नै अक्सिजनका सिलिन्डर बोकेर चुनावी प्रचारप्रसारमा लागेपछि चौतर्फी आलोचना भैरहेको छ ।कहिले बोट विरुवाले कार्बनडाइअक्साइड दिन्छ भनेर त कहिले पशुपतिमा शव जलाउन दाउराको अभाव हुन नदिने जस्ता विवादित अभिव्यक्ति दिएर आलोचनाको पात्र बन्नुभएका बन तथा वातावरण मन्त्री प्रेम आले अहिले त्यस्तै प्रचारमा लाग्नुभएको छ । अक्सिजन सिलिण्डरमा वनमन्त्री आलेको फोटो टाँसेको तस्वीर अहिले सामाजिक सञ्जालमा छरपष्ट देखिएको छ ।

मन्त्री आलेले आफ्नो गृह जिल्ला डोटी अस्पतालमा वितरणका लागि लगेको अक्सिजन सिलिन्डरमा ‘आलेको फोटोसहित नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’लेखिएको स्टिकर टाँसिएको छ ।

यस्तो तस्बीर भाइरल भएपछि अक्सिजन जस्तो स्वास्थ्य सामाग्रीलाई पनि प्रचारको सामग्री बनाएको भन्दै बिरोध भैरहेको छ । कतिपयले चिनियाँ अनुदानका अक्सिजन सिलिण्डरमा व्यक्तिगत सहयोग भनेर प्रचार गरेको आरोप लगाएका छन् ।

आलेले मात्र होइन केही सांसदहरुले समेत अक्सिजन सिलिन्डर लुकाएको चर्चा चलेको थियो । बिरामीको चाप बढी भएका ठाउँमा वितरण गर्नुपर्ने अक्सिजनलगायतका स्वास्थ्य सामाग्री मन्त्री,सांसदलगायतका पहुँचवालाले आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्रमा ओसार्नुलाई विपतमाथि गरिएको भद्दा राजनीतिका रुपमा टिप्पणी गरिएको छ ।

विपद्का बेला गरिने यस्ता सहयोगलाई मानवीय सेवाका रुपमा लिने गरिन्छ । कतिपय देशमा त यसरी प्रचार-प्रसार गरे कानुनी कारवाही हुने व्यवस्था छ ।

टिप्पणीहरू