संविधान जारी गर्ने राष्ट्रपतिको दुखेसो- संविधानमाथि साँघातिक हमला भयो
पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि सांघातिक हमला गरिएको बताउनुभएको छ । कोरोना महामारीले जनता आक्रान्त भएका बेला भएको संसद विघटनको घटनाले आफूलाई मर्माहत बनाएको उहाँको टिप्पणी छ ।
संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमले लोकतन्त्रको मूल्य,मान्यता तथा संविधानको मर्म र भावनालाई आत्मसात गर्न नसकेको उहाँले बताउनुभयो । ‘लोकतन्त्रमा हामी छौँ,देशमा लोकतान्त्रिक संविधान छ । लोकतान्त्रिक पध्दति र संविधानको विधि विधानअनुसार अगाडि जानुपर्ने थियो,त्यसो हुन सकेन,मलाई धेरै दु:ख लागेको छ’, जनआस्थालाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो ।
“डा.यादवले अदालतले शक्ति पृथकीकरणको सिध्दान्तअनुसार जनताको भावनालाई सम्मान गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।”
कार्यकारिणी र राष्ट्रपतिको संस्थाबाट संविधानको पालना नहुनु दुर्भाग्यपूर्ण भएको उहाँले बताउनुभयो । पूर्वराष्ट्रपति डा. यादवले जनताको आन्दोलनको बलमा प्राप्त उपलब्धिका रुपमा संस्थागत हुँदै गरेको संविधानलाई नै भत्काउने र क्षतविक्षत पार्ने पटक-पटकका घटनाले आफूलाई गम्भीर बनाएको पनि बताउनुभयो ।
‘यस्ता घटनाले सबै चेतनशील जनतालाई मर्माहत बनाएको छ । अहिले कोरोना महामारी छ । बिरामीले अस्पतालमा बेड र अक्सिजन पाएको छैन । जनता रोग र शोकले ग्रसित भएका बेला चुनावको नाटक गरेर देश कहाँ पुग्छ ?’,उहाँले प्रश्न गर्नुभयो ।
“जनता रोग र शोकले ग्रसित भएका बेला चुनावको नाटक गरेर देश कहाँ पुग्छ ?”
जनताले आशा गरेका संस्थाहरुले नै देश र जनताप्रति जिम्मेवार बन्न नसकेको उहाँको भनाइ छ । डा.यादवले अदालतले शक्ति पृथकीकरणको सिध्दान्तअनुसार जनताको भावनालाई सम्मान गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई विभिन्न राजनीतिक दल,संघसंस्था बुध्दिजीवी, नागरिक समाजलगायतले असंवैधानिक कदम भनिरहेका बेला संविधान जारी गर्दा ०७२ असोज ३ का राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो ।
टिप्पणीहरू