कोभिडकाल,नेपाल र बबाल

कोभिडकाल,नेपाल र बबाल

-निर्मलकुुुमार थापा

त्यो काल र यो काल
नेपालको महिमा नेपालीले गर्नु भनेको कर्तव्य हुन आउला तर वैदिककालमा नेपालभूमिको स्थिति अवस्थिति निकै पवित्र र उच्च छ त्यसैले वैदिक विश्वासीहरू देवभूमिका रूपमा नेपालको महिमा गाउँदछन् र भ्रमणका निम्ति लालायित रहन्छन् । आधुनिक विश्व मानचित्रमा नेपालको वर्णन पनि निकै पाइन्छ । चाहे त्यो गौतम बुद्धको जन्मस्थलका रूपमा होस् वा सगरमाथाको देशका रूपमा वा उच्च हिमालीक्षेत्र भएको देशका रूपमा ।

हरेक देशका आ–आफ्नै विशेषता हुन्छन् । संस्कृतिको विविधता हरेक समाजमा हुन्छ नै तर पश्चिमी समाज विशेषत : जहाँ क्रिश्चियन धर्मावलम्बीको बहुलता छ त्यहाँको समाजको प्रकृति बाइबलको सेरोफेरोमा घुमिरहन्छ । त्यसैले पश्चिमाहरूले अनुसन्धानका नाममा आफ्नो सारा जीवन र अध्ययन पूर्वीय सभ्यताको खोजमा बिताएको देख्न सकिन्छ ।

उपाय यो होइन कि एउटालाई गाली गरेर अर्कोलाई ताली बजाउँ,निकास यो पनि होइन कि एउटालाई काखमा राखेर अर्कोलाई गोडाले हिर्काऊँ ।

नेपाल मात्र नभई पूर्वीय देशको सभ्यता र खोजबारे अध्ययन गर्नुपर्यो भने विदेशीकै सहारा लिनुपर्ने बाध्यता आइपरेको छ । देशभित्रका स्थानीय स्रोतसम्पन्न व्यक्तिहरू संस्कृति मास्न उदिप्त भएर होला वा अनुदार भएर होला मौलिकता सकिँदै गएको छ । त्यो समस्या नेपालको हो,भारतको हो र अन्य सांस्कृतिक रूपमा धनी देशहरूको हो । प्रविधि र अर्थका कारण कतिपय पश्चिमा देश आफ्नो अवस्थितिलाई उत्कृष्ट मान्छन् तर ती समाजको गहिराइमा गई हेर्यौं भने समस्याका थाक प्रशस्तै छन् ।

रंगभेद, आर्थिक भेद,जातीय,धार्मिक नश्ल चेत,शक्ति विन्यास आदि विषयमा पश्चिमी समाज धेरै रूपमा भाँडिएको छ,विभक्त भएको छ । हामीले अचम्म मान्नु पर्दैन कि आधुनिक प्रविधिको विकास गरेर दशकपहिले विश्वमा शान्ति वा आधुनिक बसाइको कुरा गर्ने पश्चिमी समाजका धेरै वर्ग पूर्वीय सभ्यताले हजारौँ वर्ष पहिले प्रतिपादन गरेका योग,ध्यान र साधनाका प्रणालीलाई अहिले आएर आत्मसात् गरिरहेको देख्न सकिन्छ । यताको विडम्बना पूर्वीय समाजको जोड र खोज ती प्रविधि र आधुनिक यन्त्रलाई साध्य मानेर आफ्नो गौरव,मौलिकता भुल्दै गएको अवस्था छ ।

गौतम बुद्धको जन्म नेपालमा भए पनि निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाले आफ्नो अनुकूल व्याख्या गरेका छन् । युरोपियनको आफ्नै बुझाइ छ । अमेरिकाले प्रशिक्षित गरेका खम्पाहरूको अन्धोपनाको जरो अहिले नेपालका गुम्बाहरूमा लुकेर बसेको छ । बुध्दको ध्यानभन्दा पनि ब्राण्डका रूपमा विकसित हुँदै गएको छ, राजनीतिको नारामा सीमित हुन पुगेको छ । जापान,भियतनाम, थाइल्याण्ड,बर्मालगायत देशले बुध्दधर्मको व्यावहारिकतालाई समाजमा बिनाकुनै कोलाहल ल्याए र विकासतर्फ सोझिएका छन् ।

अमेरिकाकै कुरा गरौँ,सम्भवतः संसारमा सबैभन्दा बढी रंगसम्बन्धी घटना त्यहीँ घट्छन् । रंग विभेदले अमेरिकी राजनीतिदेखि संगीत, साहित्य,खेलकुदसम्म जरो गाडेको छ । त्यही अमेरिकी समाजले जातीय समानता,क्षेत्रीयताको कुरा उठाउँदै परजीवीहेतु आर्थिक भार बढाइरहेका छन् । संसारमा अमेरिका मात्र एक त्यस्तो देश हो जसले विश्वशान्ति र हतियार व्यापार एकैपल्ट गर्छ । नेपाली समाजको अस्थिरतामा अमेरिकाको केही देन होला, भारतको देन केही बढी होला, अलिकति चिनियाँ स्वार्थ पनि जोडिएको होला तर मूल समस्या यहाँका राजनीतिक दल र यिनीहरूले बोकेको सिद्धान्त वा दर्शन हो । जुन कहिल्यै नेपाली हुन सकेन ।

पैसाको गरिबीबाट उठ्न चाँडै सकिएला तर जहाँ विचारको दरिद्रता छ,सिध्दान्तको गरिबी छ त्यहाँ परिवर्तन आउन दशकौँ होइन,युग पर्खनुपर्छ ।

कोभिडकालमा नेपाल

आराध्यदेव गोरखनाथको पैताला मान्ने नाथ विश्वासीहरूले नेपालको नक्सालाई त्यही अर्थमा व्याख्या गर्छन् तर नेपालको राजनीतिक नक्साको स्खलन आफूलाई उत्कृष्ट राजनीतिको विज्ञ मान्नेहरूले नक्साको प्रारूपलाई आफ्नो स्वार्थअनुरूप बेच्दै आएका छन् ।

त्यो भूमिको रूपमा मात्र नभई,सिद्धान्त र संस्कारलाई पनि तिलाञ्जली दिएका कारण उनीहरूले आफ्नो जीवनकालमा भोगेको विषादताले प्रष्ट्याउँछ । देशविरोधी, समाजविरोधी भएर परिवार र सिमित व्यक्तिको हितमा नेतृत्वमा भएकाहरूले कसरी आमनेपाली समाजलाई अँध्यारोमा राखे त्यसको फेहरिस्त हामीले छर्लंग देख्न सक्छौँ ।

उपाय यो होइन कि एउटालाई गाली गरेर अर्कोलाई ताली बजाउँ,निकास यो पनि होइन कि एउटालाई काखमा राखेर अर्कोलाई गोडाले हिर्काऊँ । परिदृश्य यस्तो भइदियो कि पहिले सम्भावना भएको व्यक्ति वा समूहको वैचारिक स्खलनता र उत्तरदायी कर्ममा आलसीपनले एकपछि अर्को गरी आएका सबै नेतृत्वको वास्तविकता हो ।

नेपालको महिमा प्रकृतिको मनोरमतालाई अंगीकार गर्ने विश्व नागरिकका निम्ति अचुक गन्तव्य हो तर कोभिड रोगका कारण नेपाल मात्र नभई विश्वका सबै पर्यटकीय भूभागहरू आक्रान्त भएका छन् । पैसाको गरिबीबाट उठ्न चाँडै सकिएला तर जहाँ विचारको दरिद्रता छ,सिध्दान्तको गरिबी छ त्यहाँ परिवर्तन आउन दशकौँ होइन,युग पर्खनुपर्छ ।

तैपनि,नेताहरूका कृत्य हेर्दा उनीहरू सबै सञ्जीवनी बुटी पान गरेका वा अष्टचिरञ्जीवी (बेद व्यास,हनुमान,परशुराम,विभीषण, अश्वत्थामा,महाबलि,कृपाचार्य, ऋषि मार्कण्डेय) का भ्रुण ठानेर अन्धोकर्म गरिरहेका छन् । देश अकालमा धकेलिएको छ । नेताहरू,व्यापारीहरू यसलाई स्वर्णिमकाल भन्दै स्वार्थ पूरा गर्न लागिपरेका छन् । केही थोरै अस्पताललाई छाडेर भन्ने हो भने देशका सबै अस्पताल पैसा छाप्ने कारखानामा अनुदित भएका छन् ।

तर,त्यहाँ कार्यरत चिकित्सक, कर्मचारीका समस्या ज्युँ का त्युँ छन् । दैनिक जीवनलाई आवश्यक पर्ने सामाग्रीहरूको बिक्रीवितरणमा मनोमानी छ । मध्यम वर्गीय र तल्लो तहका जनताले भोगेको सास्तीबारे माथिल्लो तहका जनता पूर्णरूपमा बेखबर छन् । लाग्छ सरकार तिनै उच्च घरानियाँ नेपालीको दिनचर्यालाई आमनेपालीको अवस्था मानेर आलटाल गरिरहेको छ । यस्तो लाग्छ मानौँ केही भएकै छैन । कोरोना आफै आयो र आफै निको भइहाल्छजस्तो उदासीनता देखिन्छ । विदेशीले सहयोगबापत पठाएका स्वास्थ्य सामग्री पटके नेताहरूले भोट माग्ने अस्त्र बनाएका छन् र जीवन उपहार दिएझैँ,ठूलो गुन लगाएझैँ तस्बिर व्यापार गरिरहेका छन् ।

नेपाली संसद्को अवसान र बेलायती संसद्मा नेपालको चर्चा

कोभिडले विश्वलाई मर्माहत पारेका बेला,खुला सीमानाका कारण र अन्य असावधानीका कारण यस रोगले नेपाललाई पनि जीर्ण पार्यो र यो क्रम यथावत् छ, संक्रमणका घटना बढिरहेका छन् । यस्तो अवस्थामा दुई तिहाइको ऐतिहासिक शक्ति पाएको संसदीय व्यवस्थालाई नेतृत्वको मुढेबलले विराम लाउने कुकर्म गर्यो । तर सर्वोच्च अदालतले पुनःस्थापना गर्ने आदेशसँगै सञ्चार भएको आशाको स्वरूपले पूर्ण आकार लिन नपाउँदै फेरि अवसानको अवस्थामा धकेलियो ।

आम जनताले चुनेर पठाएका प्रतिनिधिहरू भूमिकाविहीन भएपछि जनधनको क्षति हुने नै भयो । त्यसमाथि यो कोरोनाकालले थला पारेको नेपालको अवस्था छ तर सरकार नेतृत्व पुकारा सुन्ने सामर्थ्यमा छैन र जनताका आम आवश्यकता र कुनै पनि आधारभूत विषयमाथि सम्बोधन हुन सकेको छैन । उता, विश्वमा संसदीय व्यवस्थाको जननी भनिने बेलायती संसदमा नेपालको वर्तमान अवस्थाबारे गम्भीर छलफल हुन्छ । यस्तो विषादतामा बाँचिरहने हामी नेपालीको अवस्था छ ।

यता आफ्नो देशको संविधान च्यूत भएको छ,संसदको चीरहरण गरिएको छ तर सोहि देशको सुरक्षाको चासोसहित विदेशी संसदमा सहयोगको लागि स्वर उठेको छ । बेलायतबाट आएको सहयोग सामग्री देशका दुर्गम भेगमा पुगिसकेको छ भने काठमाडौँको सरकारी कानले दुर्गमको कुरा छोडौँ उपत्यकाभित्रका सरकारी अस्पतालको व्यवस्थापन गर्न सकेको छैन,निजी अस्पतालले बिरामीबाट मनोमानी शुल्क असुलिरहेका छन् । अहिलेको निर्लज्ज नेतृत्वले देख्न र चिन्न नसकेको पक्कै होइन तर शक्तिको ज्वरो जरैदेखि सन्नीपातको अवस्थामा पुर्याएका कारण के प्रधानमन्त्री,के राष्ट्रपति वा अन्य संवैधानिक अंगका उत्तरदायी व्यक्तिहरूमा निमेषभर पनि मानवीय मूल्य–मान्यताप्रति स्पष्ट हुन नसक्नु विडम्बना हो । ती अपजसका फेहरिस्तहरूलाई अहिले हरेक नेपालीले बहन गर्नु परिरहेको छ ।

अनुकूल वातावरण सिर्जना गर्नमा कुनै योगदान नदिएको सरकारले कैयौँपल्ट आततायीको खाडलमा धकेलेको देखेका छौँ । भूकम्पपछिको पुनर्निर्माण अहिलेसम्म हुन नसक्नु,कोभिड रोगको सामना गर्न कुनै पनि सरकारी तयारी नहुनुले स्वास्थ्य क्षेत्रमा आएको संकटकालीन अवस्था एक वर्षदेखिको हो तर त्यसको शोधभर्ना कतैबाट हुन सकेको छैन । आधारभूत स्वास्थ्य सामग्रीदेखि भ्याक्सिन किन्नमा समेत कमिशनखोरहरूले घर बनाएका छन् ।

हामीले देखेका दुई महामारी भूकम्प र कोभिडकालमा पनि सरकारले उद्योग वा अर्थसँग सरोकार राखेका कार्यहरूबापतको कर समयमै तिर्न ताकेता गरिरहनु र आफ्नै स्रोतसाधनले आवश्यक सामग्री किन्न पनि वातावरण बनाउन नसकेको तीतो अनुभव हामीसँग छ । भनाइ र गराइका दुई पाटामा पिल्सिएर नेपालीहरू बाँच्न अभिषप्त छन् ।

सचेत नागरिक,समूह र विदेशमा रहेका नेपालीको स्वस्फूर्त सहयोगका गतिविधि,याचना सतहमा आएका छन् । सरकार विदेशी सहयोग आउला र बाँडौँला भनी बसेको छ वा अनुकूलका व्यक्तिलाई खरिद प्रक्रियामा लगाएर अदृश्य चलखेल गरिरहेको छ । त्यसको पुष्टि सम्बध्द मन्त्रीहरू र सरोकारवालाले सञ्चारमा दिएका अभिव्यक्तिले गर्छन् । सरकारमा रहेका नेताहरूको योग्यता भनेकै जनमत हो जुन अहिलेको सरकारसँग छैन ।

व्यक्तिगत रूपमा पनि कुनै क्षमता वा कौशलता नभएको व्यक्ति राष्ट्रपति,प्रधानमन्त्री हुनु, स्वास्थ्यको न्यूनतम ज्ञान नभएको व्यक्ति स्वास्थ्यमन्त्री हुनु कुनै आश्चर्य भएन तर सम्बन्धित कर्मचारीको तदारुकता पनि देख्न सकिएको छैन । कोभिडको समस्या बुझ्न के उनीहरूका आफन्तले नै मृत्युवरण गर्नुपर्ने हो ? वा उनीहरू स्वयंले सिर्जना गरेको अमरबुटीले उनीहरूको अहिलेको स्थान सुरक्षित राख्न सक्दैन भन्ने बोध किन नभएको होला !

नेपालमा भइरहेको धर्मपरिवर्तनको लहरलाई मलजल कसले गर्यो होला ? नेपालमा आएर खुलेआम भारतीयले गर्वका साथ लिएको नागरिकताको प्रमाणपत्र कसले दियो होला ?

नेपाल बनाउने नेपालीले नै हो,

नेपाल निर्माणको अग्रसरता नेपालीबाहेक अरु कोही हुन सक्दैन । विदेशमा हासिल गरेको अध्ययन वा अभ्यास रेफरेन्सका रूपमा प्रयोग हुन सक्ला तर जस्ताको तस्तै यहाँ अवलम्बन गर्न सकिँदैन । नेपालमा भइरहेको अस्थिरता नियाल्ने हो भने यो एकैपल्ट आएको अवश्य होइन । यसको श्रृंखला दशकौँ पुरानो हो । नेपालमा सक्रिय दलहरूका सिध्दान्त वा उपादेयता हेर्दाखेरि वैश्विक देखिन्छन् तर सतप्रतिशत उनीहरू देशको हितमा काम गर्न सकिरहेका छैनन् ।

नेपालमा भइरहेको धर्मपरिवर्तनको लहरलाई मलजल कसले गर्यो होला ? नेपालमा आएर खुलेआम भारतीयले गर्वका साथ लिएको नागरिकताको प्रमाणपत्र कसले दियो होला ? देशको सिमाना सक्ने, सार्ने काममा कसले अनुमति दियो होला ? देशलाई अहित हुने असमान सन्धि–सम्झौता कसले गर्यो होला ? देशको अर्थतन्त्र नहुने योजनाको एकाधिकारमाथि विदेशी वा अरु कसैलाई दिने गद्दारी कसले गर्यो होला ? आफ्नो संस्कृति मास्ने र आत्मनिर्भरताका विषयलाई मारेर परनिर्भरताउन्मुख विदेशी योजनालाई कसले अनुमोदन गर्यो होला ?

आवश्यक बाटोघाटो, विमानस्थल,ठूला उद्योग स्थापना, जलस्रोतको प्रबन्धीकरणमा कसले अंकुश लगाएको छ होला ? सरकारी योजनाहरू डुब्दै जाने र सोही प्रकृतिका विदेशी योजना सफल हुनुमा कसको हात छ ? यस्ता धेरै प्रश्नले घेरिएको अवस्था छ । सरकारमा हुने हरेक दलका नेताहरूले भन्ने नै के हो भने, नेपाललाई फलानो देशजस्तो गराउँछु तर योग्यता यति नाजुक छ कि उनीहरू नेपाललाई नेपालजस्तै बनाउन छोडेर विदेशको नक्कलमा आम नेपालीलाई अँध्यारोमा राखिरहेका छन् । र,हामी बिनाकुनै आवाज बसिरहेका छौँ,सहिरहेका छौँ ।

देश सुहाउँदा योजना र दीर्घकालीन कार्यक्रम कागजमा सीमित हुनु हाम्रो विडम्बना हो । प्रत्येक नेपालीले वहन गर्नुपर्ने ऋणभार हरेक वर्ष थपिँदै गएको छ घटेको छैन,यसको कारण हामीले यिनै शासकबाहेक अरुलाई दिन मिल्दैन । मिलेमतो रहुञ्जेलसम्म सायद यिनीहरूको जीवनको अन्तिम दिनसम्म पनि सक्दो देशलाई घात गरिरहनेछन् ।

हामीले त्यसको पीडा भोगिरहनुपर्नेछ यदि सशक्त रूपमा प्रतिकार गर्न सकेनौँ भने हाम्रो जीवन मात्र होइन,आउने पुस्ताको भविष्य पनि परनिर्भर भएर बित्नेछ । पक्षमा रही सरकार चलाउनेहरू हुन् वा प्रतिपक्षमा रहेर सहयोगीको भूमिका निर्वाह गर्ने दलहरू-दुबैको संयुक्त प्रयासले जे हुन सक्थ्यो त्यो अहिलेको अवस्था हो । त्यसैले भइरहेका दल वा व्यक्तिबाट नयाँ आशा गर्नु व्यर्थ छ ।

ओलीको योग्यता नै अयोग्यता

नेपालको कम्युनिष्ट आन्दोलनमा खासै योगदान नभएका तर व्यक्तिहत्याको घटनासँग जोडिएर दशकजतिको समयावधि जेलमा बिताएका खड्गप्रसाद ओलीका बानी व्यवहार,आचार संस्कारबारे उनका जेलभित्रका साथीहरू र बाह्य राजनैतिक जीवनका समकालीनहरूले पनि छर्लंग पारिसकेका छन् । चाहे राधाकृष्ण मैनाली हुन् वा सिपी मैनाली, मोहनचन्द्र हुन् वा पुराना सबै वामपन्थी नेताहरूले ओलीको चतुर्याइँलाई दीर्घकालीन सोच, दर्शन नभएको,शक्ति लोलुपतामा अल्झिरहने व्यक्तिका रूपमा चित्रण गरिसकेका छन् ।

फुटको संघारमा आएको एमाले वरिष्ठ नेताहरूको विमति अहिले मात्र नभई सुरुवातीकालदेखि नै थियो । तर,ती सबैलाई ओलीले उखानटुक्का सुनाउँदै एकपछि अर्को व्यक्तिगत इख झार्नमा प्रयोग गरे । ओलीले माओवादीसँग गरेको एकताको नाटक होस् वा निर्वाचन आयोगदेखि न्यायालयका निर्णयलाई चुनौती दिने र प्रभावित पार्ने उनका मन्तव्यले प्रधानमन्त्रीजस्तो गरिमामय पदको साख नै गिराइदिए ।

नेपालको इतिहासमा सबैभन्दा कम शैक्षिक योग्यता भएको प्रधानमन्त्री सम्भवत: ओली नै हुन् र उनको आफ्नै पारिवारिक उल्झन, दलभित्रको अलोकप्रियता र अहिले केही वर्षयता संसद्लाई लात्ती हानेर देशलाई जेलकालीन समयको झल्को दिएका छन् ।

ओम्नी प्रकरण सेलाउन नपाउँदै भ्याक्सिन प्रकरण आयो । विधेयक काण्डका थाकहरू पनि सलबलाए । बन्दको छेको पारेर पटकपटक तेलको भाउ बढिरहेकै छ । ऋणभार पनि बढिरहेको छ । यातायातका सबै क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ र त्यसलाई संरक्षण पनि गरिरहेको अवस्था छ ।

भारतीयलाई फाइदा हुने गरी नागरिकता विधेयक ल्याउने र देश र जनताका नाममा प्रतिज्ञा गरिनुपर्ने शपथमा आफै गल्ती गर्ने र पछि त्यही गल्तीलाई छोप्न ल्याइएको विधेयकले पनि स्पष्ट पार्छ ओलीको रुग्ण अवस्था । उनी जंगलमा हिँडे भने त्यही बाटो कहलाउने अहिलेको अवस्था छ । त्यो घोषणा तथा कार्यान्वयनका लागि सहमति दिने संसद छैन तर कामचलाउ सरकारले आफू अनुकूल व्याख्या दिँदै सत्ताउन्मादको रथारोहण गरिरहेको छ । जनताको चीरहरण गरिरहेको छ ।

विरोधीका आवाज दबाउन,अँध्यारोमा सुरुङ खन्ने काम सुँगुरको हो तर यहाँ सरकारले गरिरहेको छ र महामारीमा मलमपट्टी होइन नुनचुक दलिरहेको छ । जुन सरकार जनताबाट चुनिएको होइन आफ्नै मुढेबलमा शासन गर्न हुँकार छोडिरहेको छ ।

ओलीका अभिव्यक्ति कुनै पनि रूपमा बौध्दिक र दूरगामी छैनन् सिवाय ती टिकटकमा भन्ने कुरा उनले बोलेका कुराको स्मृति गर्दा मात्र थाहा हुन्छ । कोभिडकालमा उनले सुझाएको बेसारपानी महात्म्य,अदालतको अनादर गर्दै पशुपतिमा चढाएको जलहरी, डाँडाडाँडामा निर्माण गरिएका टावरहरू,उनका अरिँगालहरूले चढ्ने पानी जहाज, रेल र घरघरमा पुगेको ग्यासको पाइप,आदिले उनको जुँगामा समृद्धि ल्यायो होला तर देश र समाजमा कुनै फरक अनुभूति ल्याउन सकेको छैन ।

अब ओली चुनाव उन्मुख भएको बहाना बनाइरहेका छन् । के हामी कल्पना गर्न सक्छौँ, चुनिएर आएका प्रतिनिधिको संसदलाई भत्काउने ओलीले फेरि संसदलाई उठाउने काम गर्लान् ? आफूइतरका व्यक्तिलाई येनकेन प्रकारेण जिताउने कुटिलता उनको अवश्य हुनेछ तर देशवासीले यस महामारीमा ओलीका कारण भोग्नुपरेको सास्तीलाई अक्षरशः ब्युँझाइराख्नुपर्छ । त्यो ब्युँझाइ ओलीले उर्दी गरेको चुनावका लागि नभई यस्तै प्रवृत्तिका प्रेतकालीन छवि भएका पात्रहरूका हातबाट देशको सर्वोच्च स्थान सुरक्षित राख्नुपर्छ ।

टिप्पणीहरू