नियमै फेरेर नयाँ संबैधानिक इजलास, सम्भाव्य न्यायाधीश को-को ?
प्रतिनिधिसभा बिघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाई नयाँ संवैधानिक बेञ्चमा हुने भएको छ । यसअघि गठित बेञ्चमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि नयाँ बेञ्च गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा सहमत हुनुभएको हो ।
प्रधानन्यायाधीश र सर्वोच्च अदालत बारका पदाधिकारीको बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधन गर्ने सहमति भएको र अब वरिष्ठताको आधारमा एक साताभित्र अर्को इजलास गठन हुने बताइएको छ ।
नेकपाको एकता बदर गर्ने फैसला र पुनरावलोकनमा संलग्न न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राखेर संवैधानिक इजलास गठन गरिएपछि विवाद शुरु भएको थियो । उक्त फैसला र संसद बिघटनको मुध्दा जोडिएर आउने भन्दै कानुन व्यवसायीहरुले दुवै न्यायाधीशले इजलासमा बस्न नमिल्ने दाबी गरेका थिए ।
सोही विवाद समाधान गर्न प्रधानन्यायाधीशले सर्वोच्च बारसँग आज परामर्श गर्नुभएको हो । सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीशहरूको सहभागिता सुनिश्चित गर्ने गरी नियमावली संशोधन गर्ने सहमति भएको जानकारी दिनुभयो ।
अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशपछि रोलक्रमअनुसार क्रमशः दिपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठ हुनुहुन्छ । प्रधानमन्त्री केपी ओलीको अघिल्लो सरकारको महान्यायाधिवक्तासमेत रहनुभएका कार्कीले अघिल्लो पटक नै बेन्च छाडेकाले यसपटक उहाँ रहने नरहने ठेगान छैन ।
अघिल्लो पटकजस्तै कार्कीले बेञ्च छाडे छैठौँ नम्बरको बरियतामा रहनुभएका ईश्वर खतिवडालाई समेटेर नयाँ संवैधानिक बेञ्च गठन हुने सम्भावना छ ।
टिप्पणीहरू