कान खोल न ए गोर्खाली मन्त्री कमरेड !

मेरो कुरा कोही नसुन्ने, यसो बोलिदिने कोही नहुने, ललितपुरको सैंबुमा नबसे हुने भयो । म पटक–पटक सुरेन्द्र थापा (सचिव) लाई भेट्न गएँ तर उनी सधैं व्यस्त छु भन्दै टारिरहन्छन् । कार्यालय समयभरि कम्प्युटरको फेसबुकमा झुण्डिरहन्छन् । सर्वसाधारणका गुनासो सुन्नुप¥यो भने ‘बिजी छु’ भन्दै हप्काउँछन् । सैंबुनिवासी भएकाले होला, आफैं दादागिरी गरेर मलाई कसैले केही गर्न सक्दैन भन्दै हामी नयाँ बसोबास गर्नेलाई बोल्नै दिँदैनन् । हामी गाविसमा केही दुःखजिलो गरेर एउटा छत बनाई बस्न पनि नपाउने ? नयाँ बस्तीमा बस्न आउनेले स्वतः पाउने सुविधा पनि भिखारीजसरी माग्नुपर्ने ? लोकमानतन्त्र जस्तै सुरेन्द्रतन्त्र सैंबु गाविस भवनमा हावी छ ।

अरु कर्मचारीको ताल पनि उस्तै । काम लिएर गयो, जतिबेलै मोबाइलमै मस्त हुन्छन् । ‘एकछिन सानो काम थियो’ भन्न नभ्याउँदै खाउँलाजस्तो गरी आँखा तर्छन् । मोबाइलमा बोल्दै गरेको देख्दैनस् भन्दै हप्काउँछन् । अब हामी कहाँ जाने ? सेवा दिने मान्छे नै गुण्डागर्दी पाराको भएपछि कसलाई गुहार्ने ?

कार्यविनायक नगरपालिकामा पनि यस्तै बिजोग छ । त्यहाँका प्रमुखले कार्यालयभित्र अवैध काम गर्न र खुलेआम घुस लिन खड्का थरको मान्छे राखेका छन् । तिनले हाकिमकै आदेशमा सबैतिर सेटिङ मिलाई काम गर्ने गरेका छन् । नगरपालिकामा कर्मचारीभन्दा बाहिरको मान्छेको खटनपटन चल्छ । समस्या लिएर पुगेका सेवाग्राहीलाई तिनै खड्काले घुमाइदिन्छन्, कर्मचारी पनि उनैको कुरामा चल्छन्, सेवाग्राहीका कुरै सुन्दैनन् । कार्यालय समयमा न हाकिम भेटिन्छन्, न कर्मचारीले काम गर्दिन्छन् ।

खड्कालाई नभनेसम्म कुनै काम हुँदैन । उनलाई ‘दक्षिणा’ बुझाएपछि एकैछिनमा काम फत्ते हुन्छ । सेवाग्राहीसँग यस्तो खुलेआम दलाली हुँदा पनि कोही बोल्नसक्ने अवस्था छैन ।

हुन त अहिले देश नै कसले चलाएको छ, थाहा हुन्न तर यो संक्रमणकालमा एकचोटि सम्बन्धित विभागले यसो छड्के जाँच गरेर सरकारी सेवाप्रदायक कार्यालयमै मनपरी तन्त्रबाट मुक्ति दिने हो कि ?

– संैबुका पीडित नागरिक

टिप्पणीहरू