ओलीको प्रतिरक्षामा शंकर पोखरेल, बाबुराममाथि साइबर सेनाको हमला

ओलीको प्रतिरक्षामा शंकर पोखरेल, बाबुराममाथि साइबर सेनाको हमला

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका एमाले नेता शंकर पोखरेलबीच सामाजिक सञ्जालमा बेला बेला जुहारी चल्ने गर्छ । कहिले प्रत्यक्ष त कहिले अप्रत्यक्ष रुपमा उनीहरु एकले अर्कालाई कटाक्ष गरिरहेका हुन्छन् ।

भट्टराईले आज बिहान ट्वीट गर्दै ओलीको स्वागतमा महेश बस्नेतहरुको मोटरसाइकल र्यालीलाई ‘खसीको टाउको छिनालेपछि पुच्छर केहीबेर फिटिफिटी गरेको’ सन्दर्भसँग जोडेका छन् । उनले भनेका छन्, ‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केहीबेर फिटिफिटी गर्छ । ओलीको बहिर्गमनपछिको सडक तमाशादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यहि पुष्टि हुन्छ ।’

लगत्तै ट्वीट गरेका पोखरेलले माधव नेपाल समूहलाई कटाक्ष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि माधव नेपाल समूह लिलामीका लागि समेत लायक नरहने उनको दाबी छ ।

‘केपी ओली सरकारको नेतृत्वमा हुँदा माधव कमरेडहरुको केपी विरोधको ठूलो मूल्य थियो । देउवाजी प्रम भएपछि त्यो घट्दै छ । विश्वासको मत प्राप्त भएपछि त्यो लिलामीलायक पनि रहन दिने छैनन्,’ पोखरेलले भनेका छन् ।

भट्टराईले भने ओली समूहले आफू कुर्सीमा नरहे आकाशै खस्छ जस्तो गरेको भन्दै त्यसलाई हिटलरको फासिवादसँग तुलना गरेका छन् । ‘आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओली प्रवृत्ति हिटलरी नाजीवाद/फासिवादसँग मिल्दोजुल्दो भएको छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो’, भट्टराईले भनेका छन् ।

डा. भट्टराई र पोखरेल दुवै सामाजिक सञ्जालमा सक्रिय थोरै नेतामध्येमा पर्छन् । भट्टराई ओलीका कटु आलोचक हुन् भने पोखरेल सकेसम्म ओलीको प्रतिरक्षामा लेख्ने गर्छन् । पार्टीभित्र माधव नेपाल र बाहिर अन्य शक्तिको पोखरेल खुलेर बिरोध गरिरहेका हुन्छन् । सामाजिक सञ्जालमा सक्रिय दुई नेताका पछिल्लो टिप्पणीमा एक अर्काको सन्दर्भ प्रत्यक्ष नजोडिए पनि आ–आफ्नो राजनीतिक बचाउ भने जमेर गरिएको छ ।

टिप्पणीहरू