पढ्ने छेनन् तैपनि ओइरो
पाठक छैनन्, तैपनि लेखकको ओइरो छ । त्रिवि पुस्तकालयबाट आइएसबिएन नम्बर लिनेको संख्या दैनिक एक सय ५० हाराहारीमा छ । यीमध्ये दैनिक सरदर १० वटाका दरले नयाँ पुस्तक नेपाली बजारमा थपिएका थपियै छन् । साहित्यिक पुस्तक निकाल्ने प्रकाशनगृह मात्र ५० भन्दा बढी भइसके । साहित्यिक कृति यसरी बजारमा आइरहेका छन् कि त्यसलाई बजारले थेग्न सक्ने अवस्था छैन । पाठक छैनन् । कसरी चलिरहेका होला हाम्रा प्रकाशनगृह ?
मणी शर्माको सांग्रिला बुक्स,अजित बराल र निरज भारीहरूको फाइन प्रिन्ट, कुमार ढकालको फिनिक्स, भूपेन्द्र खड्का र पवन आचार्यको बुकहिल, कोयाङ लामाको याम्बुरी बुक्स, गोविन्द भट्टराईहरूको लगानी रहेको ओरियन्टल टाट पल्टिरहँदा शिखा बुक्स भने कसरी चम्किरहेको छ ?
रेशम विरहीको तेस्रो आँखाबाट शुरु भएको प्रकाशन हरिमाया भेटवालको कल्लीसम्म आइपुग्दा शिखा प्रकाशन गृहबाट दर्जनभन्दा बढी कृति प्रकाशन भइसकेका छन् । यो प्रकाशनगृहले एकपछि अर्काे पुस्तक प्रकाशन गरिरहनुको कारण रहेछ, मालिकले अरूकै पैसा चलाउन पाउनु ।
ज्ञानज्योति पुस्तक पसलका पुष्पराज पौडेलकी दिदी अष्ट्रेलियामा छिन् । चितवनमा उनको नाममा रहेको जग्गा बेचेर अहिले शिखा प्रकाशनगृह सञ्चालन भइरहेको भेटिएको छ ।
यता, यही भीडमा वामपन्थी पुस्तक मात्र प्रकाशन गर्ने भन्दै युग पाठकलाई अगाडि लगाएर उज्ज्वल प्रसाईं, जगदीश अधिकारीहरूले रेड इन्क प्रकाशनगृह खोल्न भ्याएका छन् । दीपक सापकोटाहरू इन्डिगो इन्क नामक प्रकाशनगृह खोल्ने तयारी गरिरहेका छन् । यतिधेरै प्रकाशन गृहका भीडमा बडे समीक्षक हरि अधिकारी भने आफ्नो पुस्तक प्रकाशन गरिदिने प्रकाशनगृह नभेटेको कारण भाउन्निँदै हिँडेका छन् ।
उता, किशोर नेपालहरूको नयाँ पुस्तक विमोचन भएकै साँझ नेपालसहितको एउटा समूहलाई बानेश्वरस्थित एउटा रेस्टुरेन्टमा लगेर ३१ हजारको जाँडपानी खुवाउँदा बिएन्डबी प्रकाशनगृहका एमडी विष्णु पौडेलले जागिरबाट हात धुनुपरेको साहित्यिक वृत्तमा चर्चा छ ।
टिप्पणीहरू