रुप फेर्दै नाग्रे-गगर्चेको खाँडादेवी मन्दिर,तान्ला त पर्यटक ?

रुप फेर्दै नाग्रे-गगर्चेको खाँडादेवी मन्दिर,तान्ला त पर्यटक ?

एसियाको दोस्रो ठूलो पहिरोको छेउमा अवस्थित चर्चित धार्मिकस्थल दुति खाँडादेवी मन्दिरको पुनर्निर्माण शुरु भएको छ । २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त मन्दिर पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण गर्न लागिएको हो ।

भूकम्पले पूर्णरुपमा क्षति भएको मन्दिर विभागको आर्थिक सहयोगमा अब पक्की बन्न लागेको छ । मन्दिर दर्शनका लागि आउने भक्तजनबाट प्राप्त आर्थिक सहयोग र चन्दामार्फत संकलित रकमसमेत मन्दिर पुनर्निर्माणमा खर्च गरिएको स्थानीय जनप्रतिनिधि देवबहादुर प्रधानले बताए ।

(एसियाकाे दाेस्राे ठूलाे पहिराे)

काठमाडौँबाट ११३ किलोमिटर पूर्व काभ्रेको कोशिपारी क्षेत्रमा रहेका बिभिन्न मन्दिरमध्ये दुति खाँडादेवी मन्दिर सबैभन्दा पुरानो हो । यो मन्दिर काभ्रेपलाञ्चोक, रामेछाप,दोलखा र सिन्धुपाल्चोक जिल्लाको सिमाना नजिकै अवस्थित छ । श्रावण महिनाबाहेक वर्षैभरि नियमित पूजापाठ हुने यो मन्दिरमा छिमेकी जिल्लासंगै काठमाडौँ,भक्तपुर, ललितपुरलगायतका ठाउँबाट दर्शनार्थीहरु आउने गर्छन् ।

(एसियाकाे दाेस्राे ठूलाे पहिराे)

पर्यटकीय दृष्टिले समेत राम्रो सम्भावना बोकेको यस क्षेत्रलाई काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका र चौरी-देउराली गाउँपालिकाको सिमाना साँगास्वती भञ्ज्याङदेखि रामेछाप जिल्लाको शैलुङसम्म जोड्ने १७ किलोमिटर युध्द पर्यटन पदमार्गले समेत जोडेको छ ।

पारीपट्टी रामेछाप जिल्लाको सानो शैलुङको सुन्दर झरना, वारिपट्टी एसियाको दोस्रो ठूलो पहिरो र वीचमा खाँडादेवी मन्दिर, अनि तल चौरीखोलाको छङछङ आवाजले मोहित बनाउने यो मन्दिरको उत्पत्ति ४५०० वर्ष अगाडि भएको बताइन्छ । यहाँ दशैँमा फूलपाती पर्साउने तथा अष्टमी र नवमीका दिन बिशेष जात्रासहित रथयात्रा गराउने परम्परा रहेको छ । यस मन्दिरमा पूजाआज गरेमा रोग-ब्याधी नलाग्ने, देश-परदेश जाँदा बाधा नहुनेजस्ता धार्मिक विश्वास रहेको मन्दिरका पुजारी कर्णबहादुर प्रधान बताउँछन् ।

कोशिपारीको धार्मिकस्थलहरु मध्ये धेरैको प्राथमिकतामा पर्ने खाँडादेवी मन्दिर संरक्षणका लागि हरेक वर्ष गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएकोमा चालू आर्थिक वर्षमा भने पुरातत्व विभाग नै अग्रसर भएको हो । यो वर्ष गाउँपलिकाले मन्दिरका लागि बजेट नछुट्याएको पालिकाकी उपाध्यक्ष ताराकुमारी चौलागाईले बताइन् ।

(मन्दिर जाने कच्ची सडक)

खाँडादेवी मन्दिर दूरीका हिसाबले काठमाडौँबाट नजिकै छ । काठमाडौँबाट झण्डै चार घण्टामा पुगिने खाँडादेवी क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न सके जिल्लाकै सम्बृध्दिमा योगदान पुग्ने स्थानीयको विश्वास छ । तर, मन्दिरसम्म पुग्ने सडकमार्ग स्तरोन्नति हुन नसक्दा ओझेलमा परिरहेको छ । सडक मर्मत नहुँदा वर्षाको समयमा कष्टपूर्ण यात्रा गरेर दर्शनार्थीहरु मन्दिरको दर्शन गर्न पुग्ने गरेका छन् ।

बर्खाको समय ठाउँ-ठाउँमा सडक अवरुध्द हुँदा मन्दिरमा आउने भक्तजनले दु:ख पाउने गरेको भन्दै वडाध्यक्ष दिनेश लामाले सडकको स्तरोन्नतिका लागि संघीय सरकारले सहयोग गर्नुपर्ने बताए । यसक्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न सडकसंगै अन्य पूर्वाधार निर्माणमा पनि सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

टिप्पणीहरू