तरुण दलले वडाध्यक्षको चरित्रहत्या गरेको भन्दै गाउँपालिकाको खेद

तरुण दलले वडाध्यक्षको चरित्रहत्या गरेको भन्दै गाउँपालिकाको खेद

नेपाली काँग्रेसनिकट नेपाल तरुण दलले वडाध्यक्षको चरित्रहत्या गरेको भन्दै गुल्मीको इस्मा गाउँपालिकाले खेद व्यक्त गरेको छ । ५ नम्बरका वडाध्यक्षद्वारा आफ्नो व्यक्तिगत काममा लेन्थवर्कर प्रयोग भन्दै फैलाइएको समाचार अफवाहपूर्ण रहेको प्रवक्ता गनुप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वडाध्यक्षले आफ्नो व्यक्तिगत काममा लेन्थवर्कर प्रयोग गरेको भन्दै साउन २९ गते नेपाल तरुणदल क्षेत्र नम्बर २ ले निकालेको विज्ञप्ति र त्यसपछि विभिन्न सामाजिक सञ्जाल, अनलाइनहरुमा आएको समाचार गलत छ ।’गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमार्फत पौवा–चापटारी सडक निर्माणको क्रममा कुलो पुरिएको र त्यसपछि ‘सडक मर्मत तथा मर्मतकर्ता व्यवस्थापन कार्यविधि,२०७६’ को दफा ९ बमोजिम गत साउन २५ र २६ गते दुई दिन लेन्थवर्कर प्रयोग गरी कुलो सफा गर्ने कार्य गरेको जानकारी दिएको छ ।

कुलो मर्मतपछि छ घरधुरीको करिब ३० रोपनी क्षेत्रफलको खेतमा पानी सुचारु भई धानरोपार्इं समेत सम्पन्न भएको पनि गाँउपालिकाले जनाएको छ ।

‘सुझबुझपूर्ण तवरबाट गरिएका कामको वास्तविक स्थिति नबुझेर व्यक्तिको चरित्र हत्या गर्नुका साथै संस्थाको बदनाम गर्ने मनशायबाट प्रेरित भई जिम्मेवार संगठनले गरेको विज्ञप्तिवाजी र मिडियाहरुमा प्रेषित भ्रमपूर्ण समाचार खेदजनक रहेको’ विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू