वाइसिएलले आज नेता छान्ने,बादलसँग चार जना
काठमाडौंमा चार दिनअघि शुरु भएको माओवादी युवा संगठन वाइसिएलको राष्ट्रिय भेला सकिएको छैन । तीन दिनदेखि जारी बन्द सत्र आज पनि चल्ने छ । हिजो साँझसम्म बल्ल केन्द्रीय समितिले आकार लिएको बताइन्छ । सबै प्रदेशको प्रतिनिधित्व हुने गरी बनाइएको समितिमा गण्डकी प्रदेशको प्रतिनिधिको विवरण प्राप्त भइसकेको छैन ।
केन्द्रीय समिति बनाएपछि मात्र मूल नेतृत्वमा प्रवेश गर्ने भन्दै बिहान ठूलै टोली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमल्टार पुगेको थियो । दाहालको निर्देशनलाई शीरोपर गरेर आज केन्द्रीय समिति घोषणा गरिने वाइसिएलका एक जना नेताले बताएका छन् । समिति २ सय ३१ सदस्यीय हुनेछ ।
तर,अहिलेसम्म मूल नेतृत्वको बारेमा ठ्याक्कै भन्न सकिने अवस्था नरहेको वाइसिएलका दुबै पक्ष बताउँछन् । यसैबीच रामबहादुर थापा बादलको पछि लाग्दै एमालेमा गएका सबै जसो वाइसिएल नेता तथा कार्यकर्ता मूलधारमा फर्केको दाबी गरिएको छ ।
बिरु तामाङलगायत उता गएका सबैजसो केन्द्रीय पदाधिकारी फर्केको जानकारी दिइएको छ । वाइसिएलका एक जना नेताले बन्द सत्रमा भनेका छन्, ‘बादलसँग अब चार जनाबाहेक कोही पनि छैनन् ।’
टिप्पणीहरू