५ जिल्लामा ५ जना बिते

५ जिल्लामा ५ जना बिते

आज काठमाडौं, धादिङ, कञ्चनपुर, मकवानपुर र कपिलवस्तुमा पाँच जना मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–२२, खिचापोखरीस्थित हेमन्त श्रेष्ठको न्यूराजधानी गेष्ट हाउसमा काम गर्ने काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–२ घर भएका २४ वर्षीय अनिल ढुङ्गाना सोही गेष्ट हाउसको कौशीमा मृत अवस्थामा फेला परेका छन् ।

यस्तै धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, सुनखानी मानेडाँडास्थित जवाङखोलामा बेनिघाट रोराङ गाउँपालिका–१० जोबन डाँडा बस्ने हिरालाल चेपाङको छोरा १२ वर्षीय सुरज चेपाङ पनि मृत अवस्थामा फेला परेका छन् । भदौ १७ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा नजिकैको खोलामा शव फेला परेको हो ।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, भेटघाट शिविर, नयाँ बस्ती बस्ने २० वर्षीय गगन कार्की आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको बागमती गाउँपालिका–१, करौजेस्थित बागमती खोलाको बगरमा समेत परिचय नखुलेकी १३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–५, बेलवाघाट, कन्चनियापुर खोलाको किनारामा पनि अपरिचित पुरुष मृत फेला परेका छन् ।

टिप्पणीहरू