एमसीसीको बिरोध बाहेक राजधानीमा अरु पनि कार्यक्रम

एमसीसीको बिरोध बाहेक राजधानीमा अरु पनि कार्यक्रम

नेपाली काँग्रेस रौतहटले अघिल्लो महिनादेखि गर्दै आएको रिले अनसन तथा धर्ना आज पनि जारी राखेको छ । क्रियाशील सदस्यतामा भएको धाँधलीबिरुद्ध थालिएको रिले अनसन तथा धर्ना कार्यक्रम बिहान ९ बजेदेखि काँग्रेस केन्द्रीय कार्यालयमा हुने छ ।

उता अनेरास्ववियु (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पस कमिटीले पाटन संयुक्त क्याम्पस सम्मेलन गर्ने जनाएको छ । बिहान १० बजे पाटन क्याम्पसमा हुने कार्यक्रममा प्रहरी हस्तक्षेप हुने आशंका गरिएको छ । सोमबार राजधानीको पब्लिक युथ क्याम्पसमा भएको उक्त विद्यार्थी संगठनको भेलामा प्रहरीले सबैलाई गिरफ्तार गरेको थियो ।

साउन महिनादेखि हुँदै आएको नेपाल वायुसेवा निगम युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल वायुसेवा निगम कर्मचारी संघको धर्ना कार्यक्रम आज पनि जारी छ । निगमको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म उक्त कार्यक्रम हुने जनाइएको छ ।

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले आज तीज विशेष कार्यक्रम गर्ने जनाएको छ । अर्याल होटल, नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि कार्यक्रम हुने जानकारी गराइएको छ ।

उता, सेयर खेलाडीहरुको पुँजी बजार सुधार संघर्ष समितिले विभिन्न माग राखि नेपाल राष्ट्र बैंकमा धर्ना र रिले अनसन गर्ने जनाएको छ । उनीहरुले सेयर बजारको कारोबार बन्द भएपछि दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म कार्यक्रम गर्ने जनाएका छन् । आजै संसदको दुबै सदनको बैठक बोलाइएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो ४ बजे बैठक बोलाइएको छ ।

नेपाल ल क्याम्पस र त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेण्टका निर्देशक प्राध्यापक डा.पुष्कर शर्माको कार्यकक्षमा विद्यार्थी संगठनहरुले लगाउँदै आएको तालाबन्दी आज पनि जारी रहने भएको छ ।

टिप्पणीहरू