प्रदेश राजधानीमा पत्रकारको आपत्ति नै आपत्ति
बागमती प्रदेशको राजधानी हेटौँडामा बुधवार पत्रकारले सरकारी निकायका प्रतिनिधिहरुसँग पटक पटक आक्रोश ब्यक्त गर्नुपरेको छ ।
बिज्ञापन बोर्डको संरचना जिल्ला तहमा समेत गठन भई कार्यान्वयन प्रक्रियामा जाँदा अकस्मात २ दशकदेखि प्रकाशनरत केही दैनिक पत्रिकाको आकार नमिलेको भन्दै लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी नगर्ने जिल्ला हुलाक कार्यालयको भनाईप्रति सम्पादक र प्रकाशकहरु आक्रोशित भएका हुन् ।
राजनीतिक पहुँच पुर्याएर जग्गा व्यवसायीदेखि अन्य सामान्य कार्यकर्ताहरु समेत मन्त्रीको सपथ कार्यक्रममा सहभागी भई सेल्फी लिइरहँदा पत्रकारहरुलाई भने निषेध गरिएको थियो ।
नेपाल पत्रकार महासंघ मकवानपुरले आयोजना गरेको छापामाध्यमका समस्यासम्बन्धी छलफलमा जिल्ला हुलाक कार्यालयका प्रमुख हरिप्रसाद अधिकारीले विज्ञापन बोर्डले कडा निर्देशन दिएकाले आकार नपुगेका पत्रिकाहरुका लोककल्याणकारी विज्ञापन प्रकाशनबापतको रकम दिन नसकिने बताउनुभएको थियो ।
प्रतिउत्तरमा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ,प्रदेश दैनिकका बिजय पौडेल,हेटौँडा सन्देश दैनिकका माधव न्यौपाने,थाहा सन्देशका राजन दाहाललगायतले ‘यत्तिका बर्षसम्म मिलेको कुरा विज्ञापन बोर्ड आउनेबित्तिकै किन मिलेन ?’ भनेर प्रश्न गर्नु भएको थियो ।
“जिल्ला हुलाक कार्यालयका प्रमुख हरिप्रसाद अधिकारीले विज्ञापन बोर्डले कडा निर्देशन दिएकाले आकार नपुगेका पत्रिकाहरुका लोककल्याणकारी विज्ञापन प्रकाशनबापतको रकम दिन नसकिने बताउनुभएको थियो”
आफूले मात्रै निर्णय गर्न नसक्ने भन्दै आकारका सन्दर्भमा उठेका समस्याहरुबारे केन्द्रीय बोर्डमा जिल्ला हुलाक कार्यालयका तर्फबाट लेखी पठाउने भनी छलफल टुंग्याइएको थियो ।
छलफलमा जिल्ला हुलाक कार्यालयको तर्फबाट गरिएको कडाईलाई मान्ने हो भने कुनै पनि दैनिक पत्रिकाको आकार पर्याप्त हुँदैन । ठूला आकारका पत्रिका छाप्ने अफसेटसमेत हेटौँडामा नहुँदा दैनिक पत्रिका सञ्चालकहरु यतिखेर रनभुल्लमा परेर आक्रोशित बनिरहेका छन् ।
यता आक्रोश पोख्दै सकिएको कार्यक्रमबाट निस्केर प्रदेश प्रमुख कार्यालय पुगेका पत्रकारहरु झन् क्रुद्ध भए । कारण थियो,प्रदेश प्रमुख कार्यालयमा नयाँ मन्त्रीहरुको सपथग्रहण ।
राजनीतिक पहुँच पुर्याएर जग्गा व्यवसायीदेखि अन्य सामान्य कार्यकर्ताहरु समेत मन्त्रीको सपथ कार्यक्रममा सहभागी भई सेल्फी लिइरहँदा पत्रकारहरुलाई भने निषेध गरिएको थियो ।
पत्रकारलाई व्यवस्थित ढंगले समाचार संकलन गर्ने वातावरण मिलाउन नसकेको र भित्र पस्नै नदिएको बिरोधमा बागमती प्रदेशका पत्रकारहरुले प्रदर्शन समेत गरेका छन् ।
नेपाल पत्रकार महासंघका बागमती प्रदेश महासचिव कृष्ण सारुमगर र जिल्ला सहसचिव एमपी शर्माले पत्रकारलाई समाचार संकलनमा गरिएको रोकको विज्ञप्ती निकालेर विरोध जनाएका छन् ।
टिप्पणीहरू