एमसीसी स्वीकार नगर्न सरकारलाई वाईसीएलको सुझाव

एमसीसी स्वीकार नगर्न सरकारलाई वाईसीएलको सुझाव

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) निकट आबद्ध युवा संगठन वाईसीएल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई स्वीकार नगर्न सरकारलाई सचेत गराएको छ ।

सुमन देवकोटा नेतृत्वको वाईसीएल नेपाल केन्द्रीय समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बुँदाहरु नसच्चिएसम्म उक्त सम्झौता पारित नगर्न सरकार र संघीय संसदलाई सचेत गराएको हो ।

वाईसीएलका संयोजक देवकोटाले नेपालको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तर्राष्ट्रिय सहयोग, अनुदानहरु स्वीकार गर्न नसकिने बताउनुभयो ।

गत भदौ १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले गरेका निर्णयहरु सार्वजनिक गर्दै वाईसीएल नेपालले भारतसँग रहेका सबै सीमा समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ ।

त्यसैगरी युवाहरुलाई रोजगारीको अवसर प्रदान गर्न, उमेर पुगेका युवा तथा विद्यार्थीहरुका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको संयोजक देवकोटाले बताउनुभयो ।

कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरुको छानबिन गरी दोषीमाथि कारबाही गर्न र त्यसमा ढिलाई नगर्न वाईसीएलले सरकारलाई दबाब दिएको छ ।

टिप्पणीहरू