फातिमा उडे पनि एमसीसीको बिरोध जारी

फातिमा उडे पनि एमसीसीको बिरोध जारी

अमेरिकी सहयोग परियोजना एमसीसीको चर्को विरोधका बाबजुद चार दिने नेपाल भ्रमण सकेर एमसीसी उपाध्यक्ष फातिमा सुमार हिजो राति स्वदेश फर्केकी छन् । कतार एअरवेजको उडानबाट हिजो राति ९ बजेर ३५ मीनेटमा उनी दोहा हुँदै वासिङ्ग्टन फर्केकी हुन् ।

पछिल्लो चार दिन काठमाडौं लगायत मुलुकभर एमसीसीको बिरुद्धमा नाराबाजी,प्रदर्शन र सभाहरु अन्यको तुलनामा बढी नै भएका थिए । तर हिजो फातिमा फर्के पनि नेपाली राजनीतिक दल र समूहले आज पनि एमसीसीको बिरोधका कार्यक्रमलाई जारी राख्ने भएका छन् ।

आज नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिले महासचिव नेत्रविक्रम चन्द (विप्लव) को उपस्थितिमा एमसीसीको बिरोध गर्दै राजधानीमा विशाल बिरोध प्रदर्शन र जनसभा गर्ने जनाएको छ ।

त्रिपुरेश्वर,बबरमहल र लैनचौरबाट जुलुश रत्नपार्कको खुल्ला मञ्च पुगेर आमसभामा परिणत हुने बताइएको छ ।

उता राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले पनि एमसीसीविरुद्ध बिरोध प्रदर्शन गर्ने भएको छ । दिउँसो १ बजे बबरमहलमा कार्यक्रम राखिएको संगठनले जनाएको हो ।

त्यसैगरी हाम्रो टिम नेपाल तथा (योद्धा ग्रुप) ले एमसीसीविरुद्ध मोटरसाइकल र्यालीको कार्यक्रम राखेको छ । र्याली दिउँसो ३ बजे अनामनगरबाट शुरु हुने जानकारी दिइएको छ ।

एमसीसी प्रतिकार समूहले पनि एमसीसी सम्झौताविरुद्ध बिरोध र्याली गर्ने भनेको छ । उसले दिउँसो साढे ३ बजे बिजुली बजार पुलबाट र्याली निकाल्ने तयारी गरेको जानकारी दिएको छ ।

टिप्पणीहरू