गोर्खाबीच विभिन्न गड्बडी
भारत सरकार फुटाउने अनि शासन गर्नेमा कति माहिर छ भन्ने कुरा अहिले उसैको मुलुकमा चलेको तीन महिनादेखिको आन्दोलनको नेतृत्वमा देखिएको फुट हेरे काफी छ । दुई हप्तादेखि आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चाका नेता फुटेका छन् ।
छिमेकी साना मुलुकलाई अस्थिर राख्नमा भारतको ठूलो भूमिका रहेको आरोप लागिरहेका बेला दार्जिलिङ जिल्लालाई छुट्टै राज्य माग राखेर आन्दोलन गर्दै आएका गोर्खा जनमुक्ति मोर्चाका नेतालाई दुई गुटमा विभाजन गर्न सफल भएको छ । नेताबीचको अन्तरकलहरले आन्दोलन कमजोर बन्दै गएको छ ।
पश्चिमबंगाल सरकारले गोर्खाल्यान्ड आन्दोलनलाई तुहाउन नेपाली माओवादीसँग जोड्न खोज्यो तर असफल बन्यो । नौ जनाको ज्यान जाने र सयौं घाइते हुने गरेर आन्दोलनलाई दमन ग¥यो तर पनि आन्दोलनबाट मोर्चा पछि हटेन । यसपछि भारत सरकारले आफ्नो स्थापित रणनीति अस्त्रका रूपमा अहिले प्रयोग गरिरहेको छ–‘फुटाऊ अनि शासन गर ।’ भारत सरकारले आन्दोलनकारीलाई नै दुई फ्याक बनाए । अहिले मोर्चाका शीर्ष नेताबीच असमझदारी चुलिएर फरक दुई दलजस्तै बनेका छन् । यता, तीन महिनादेखि जारी आमहडताल खोल्ने या नखोल्ने विषयमा पनि मोर्चाका नेता विभाजित भएका छन् । नेताबीच बढ्दै गएको कलहबाट नेपालीभाषी भारतीय भने निरास बन्न थालेका छन् । सुकै चुनौती सामना गरेर भए पनि छुट्टै राज्य गोर्खाल्यान्ड ल्याएरै छाड्ने भन्दै नेपालीभाषीले तीन महिनासम्मको आमहडताल सहज रूपमा स्विकारेर आन्दोलनलाई समर्थन जनाएका छन् । तर, नेतृत्वबीच देखिएको विभाजनले यसपटक पनि सम्झौतामा आन्दोलन टुंगिने नेपालीभाषीले चिन्ता व्यक्त गर्न थालेका छन् ।
गोर्खा जनमुक्ति मोर्चाका सहसचिव मात्र नभएर मोर्चाका अध्यक्ष विमल गुरुङको हनुमान भनेर चिनिएका विनय तामाङ र गुरुङबीच उत्पन्न अविश्वासले आन्दोलनलाई कमजोर पार्दै लगेको बताइन थालेको छ । खास गरेर मोर्चाका अध्यक्ष विमल गुरुङले केन्द्र सरकारसँग मात्र वार्ता गर्ने अडान राखेका थिए । तर अध्यक्ष गुरुङको अडानविपरीत अघिल्लो हप्ता विनय तामाङ नेतृत्वको एक टोलीले राज्य सरकारसँग वार्ता गरेपछि मोर्चाका अध्यक्ष गुरुङ र महासचिव रोशन गिरीहरूले उनलाई अविश्वास गर्न शुरु गरे । वार्तापछि तामाङले एक तर्फी रूपमा दार्जिलिङलगायत पहाडमा शान्ति कायम गर्ने भन्दै बन्द खुलेको घोषणा गरे तर अध्यक्ष गुरुङले भने बन्द कायमै रहेको बताए ।
तथापि, बन्द भने कायमै रह्यो र छ । यसपछि अध्यक्ष गुरुङले तामाङलाई पार्टीबाट हटाइएको अभिव्यक्ति दिए । पश्चिमबंगाल सरकारको प्रभावमा परेर तामाङले गोर्खाल्यान्ड आन्दोलनलाई कमजोर पार्ने चाल चलेको अध्यक्ष गुरुङको आरोप छ । यसपछि पनि तामाङले शान्ति ¥यालीको आयोजना गर्ने, नेपाली सुटर ल्याएर आफूलाई मार्न लागेको जस्तो पश्चिमबंगाल सरकारको शैलीमै अभिव्यक्ति दिइरहेकाले पनि उनीप्रतिको मोर्चाका शीर्ष नेताको विश्वास गिर्दै आएको छ । र, यसले आन्दोलनकारीबीच दूरी झन् झन बढाइरहेको छ ।
टिप्पणीहरू