भारतै लाँदा त के बित्थ्यो र !
राणा प्रधानमन्त्री १९०६ साल चैतमा बेलायत, फ्रान्स र इजिप्ट जाँदा कलाकार भाजुमान चित्रकार पनि साथै थिए । १९०७ माघमा फर्केपछि नेपालमा चित्रकला र वास्तुकलाको कस्तो विकास भयो भन्ने दरबारहरूको निर्माणले देखाएको छ । १९०८ सालमा चन्द्रसमशेर बेलायत जाँदा दीर्घमान चित्रकार साथै थिए । उनले त्यहाँ युरोपेली कलाको थोरै अध्ययन गर्न पाए जुन उनको कलामा पनि झल्किन्छ । त्यसपछि कुनै व्यक्ति कलाकारको हैसियतले प्रधानमन्त्री वा राष्ट्रपतिसँग विदेश गएको थाहा छैन । ध्रुवचन्द्र गौतमले निकै पटक भने, ‘लेखें गिरिजाप्रसाद कोइरालालाई । अहँ, उनलाई कलाको के मतलब थियो र ? उनी दाजुजस्ता कलामर्मज्ञ कहाँ हुनु ?’
भाजुमान गएको १६८ वर्षपछि महानायक भनिएका राजेश हमाल र चलचित्रकर्मी दिनेश डिसीले पालो त पाए तर के तिनले बलिउडकर्मीलाई भेटेर नेपाली फिल्मबारे अन्तरक्रिया गरे त ? हमालसँग बरु एनटिभीकी शिवानी थापाले सेल्फी हानेको खबर पो आयो अनलाइन न्युजमा ।
साहित्यकारले निकै अनुरोध गरे राष्ट्रपति र प्रमको भ्रमणमा साहित्यकार पनि लैजाऊ भनेर, अहँ टेरपुच्छर लागेन । यसो फर्केपछि निबन्ध वा नियात्रा त लेख्थे । उखानटुक्कामा माहिर ओलीले साहित्य र उखानटुक्काको सम्बन्ध छ भनेर कसो नबुझेको ? साहित्यकार मदन भण्डारीकी धर्मपत्नीले साहित्य र कलाको महŒव किन थाहा नपाएको ? नेपाली साहित्यकारले आफ्नै खर्च गरेर विदेशमा बसी किताब, एल्बम निकालेर यत्रो योगदान गरेका बेला सरकारी पैसामा साहित्यकार र चित्रकार–मूर्र्तिकारलाई पनि भारतसम्म लैजाँदा यहाँहरूको के जान्थ्यो ? लुकेर बस्लान् भन्ने पिर हो भने सबभन्दा वृद्धवृद्धालाई लगेर त हेर्नाेस् !
टिप्पणीहरू