​श्रीमान् र सुनको साइनो

३८ क्वीन्टल सुनकाण्डमा अहिलेसम्म देखिएका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) का मूल आर्थिक व्यवस्थापक काभ्रेली राम तिवारी समातिएपछि अदालततिर अचम्मको हल्लिखल्ली छ ।

रातोपुलमा अटो वक्र्स छ, सञ्चालक हुन्, राम तिवारी । त्यहाँ अधिकांश न्यायाधीशका गाडीको सर्भिसिङ, सरसफाइदेखि रिकण्डिसनिङसम्म हुन्थ्यो । दक्षिण कोरियामा स्वास्थ्योपचार गरी स्वदेश फर्किने क्रममा केही दिनअगाडि उनी एयरपोर्टबाटै पक्राउ परेका थिए । गणेश लामाको पछि लागेर केही पैसा कमाएका, अति सामान्य परिवारका मान्छे हुन् उनी । तर, तिनै राम तिवारी समातिँदा नेपालको न्यायक्षेत्रमा हल्लिखल्ली छ । रातोपुलको अटो वक्र्स भाडामा लगाएका छन्, महिनावारी पाँच लाख भाडा उठाउँछन् । घर कोटेश्वर हो । तीनकुने प्रहरी बृत्त रहेको जग्गा अधिग्रहण हुँदा उनको पनि करिव पाँच आना परेको थियो । मुद्दा लडेर, न्यायाधीश सेटिङ गरेरै पैसा लिइछाडे । अहिले छानवीन समितिले उनको सम्पर्क खोज्ने क्रममा ९८५१०४१७०४ नम्बरको मोबाइलमा गोरेसँगमात्र हैन, विभिन्न तहको अदालतका न्यायाधीशसँग पनि सम्पर्क देखिएको छ । अहिले मोरङ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । अरुलाई जस्तै थप अनुसन्धानका लागि उनी पनि झुम्का कारागारबाट काठमाडौं चलान गरिनेमा पर्ने भएका छन् । र, मुद्दा जान्छ उच्च अदालत पाटनमा । त्यहाँका ६ जना न्यायाधीशसँग  दिनको दुई–तीनपटकसम्म उनको सम्पर्क देखिएको छ । सर्वोच्चकै दुई न्यायाधीशसँग पनि सम्पर्क देखिन्छ । 

छानबिन समितिले बुझेको छ– गौरीघाटस्थित बागमती कोरिडोरसँगै रहेको नयाँबस्तीमा सञ्चालित दिव्य पार्टी प्यालेसमा न्यायाधीशका लागि खानपान, फिटनेश र स्वीमिङको व्यवस्था रामले गराउँथे । यो त्यही ठाउँ हो, जहाँ डेढ वर्षअघि हाल फरार रहेका आपराधिक कसुरदार दावा लामामाथि बिहान गोली प्रहार गरिएको थियो । सिसिटिभीले गोली हान्ने मान्छे पहिचान गरिसक्दा पनि प्रहरीले पक्राउ गरेन, न दावालाई नै नियन्त्रणमा लिइयो । भनिन्छ, दावा वा गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेको भए केही न्यायाधीशको पोल त्यही बेला खुल्ने थियो । त्यसमा केही उच्चपदस्थ प्रहरी अधिकारी पनि मुछिएका थिए । विषय हो, पैसाको । न्यायाधीश र उच्चपदस्थ प्रहरीका अवैध आर्जनलाई व्याजमा चलाउने काम दावा, राम तिवारीहरुले गर्ने आशंका त्यही बेलादेखि गरिँदै आएको हो । दावा र राम दुबै गणेश लामाका विश्वासिला सहयोगी हुन् । 
प्रश्न उठ्छ कि, एउटा मामुली ग्यारेज चलाउने साधारण लेखपढवाला केटोसँग न्यायाधीशहरुको सम्पर्क हुन्छ किन ?

टिप्पणीहरू