बौद्ध भिक्षुको भेषमा मानव बेचबिखन

बौद्ध भिक्षुको भेषमा मानव बेचबिखन

बौद्ध भिक्षुको भेषमा दुई जना बालकलाई भारत लगेर बेचबिखन गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । मानव बेचबिखत तथा ओसारपसारमा संलग्न भएको आरोपमा नवलपरासीको देउचुली नगरपालिका–१७ का ३६ वर्षीय सन्तवीर लामा गत कात्तिक २९ गते पक्राउ परेका हुन् ।

उनले काठमाडौंको बौद्धस्थित सेतो गुम्बामा लामा विद्या अध्ययन गरिरहेका .दुई जनालाई भारत लैजान प्रपञ्च रचेका थिए । उनले आफूलाई भारतको कर्णाटक राज्यमा रहेको मुडगोड लामा क्याम्प नम्बर १ स्यार गडेन मोनेष्ट्री गुम्बामा अध्ययन गरेको लामागुरुको रुपमा परिचय दिँदै आएका थिए ।

त्यहि आधारमा उनले भारतको उक्त गुम्बामा लामा विद्या अध्ययन गर्दा निकै राम्रा् सुविधा पाइने प्रलोभन बाँडेका थिए । साथै त्यहाँबाट फर्केपछि नेपालको गुम्बामा पढाउने लामा (शिक्षक) पनि हुन पाइने र अन्य प्रलोभन देखाई दुबै जनालाई सिन्धुलीको एउटा पालिकाको वडामा उनले बालकहरुलाई सार गडेन बुद्धिस्ट कल्चर एसोसियसनको लेटरप्याडमा भारतको कर्णाटकमा लैजाने सिफारिसको लागि निवेदन हालेका थिए ।

निवेदनसँगै उनले बालकहरुको जन्मदर्ता समेत बनाउने क्रममा देखाएको शंकास्पद गतिविधिपछि प्रहरीले पक्रेको बताइन्छ । यसअघि समेत उनले यहि धन्दामा नेपालका विभिन्न जिल्लाबाट थुप्रै बालकलाई लामा विद्या अध्ययन गराउने बहानामा भारतमा पुर्याएको आशंका गरिएको छ ।

सन्तवीरले भारत लैजान काठमाडौंको आरुबारीमा रहेको झुगो कदम्पा गुम्बामा अन्य तीन जना १० देखि १४ वर्षका बालकहरूलाई समेत राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । ती बालकलाई प्रहरी प्रधान कार्यालयको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले उद्दार गरी बाल हेल्पलाइन सिविन, रविभवनमा राखेर मंसिर २ गते आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

अहिले लामामाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थपको अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

टिप्पणीहरू