नेपाली सन्दर्भ र मदनको नीति

  • शरद अधिकारी

मदन भण्डारी र जीवराज आश्रितको निधन भएको २६ वर्ष पुगिसकेको छ । कसैले यसलाई हत्या भनेका छन् । कसैले स्वाभाविक ठानेका छन् । हत्या भएको भन्नेहरूले कसले गरेको भन्न सकेका छैनन् । स्वाभाविक भन्नेहरूले पनि खुच्चिङ भन्न पक्कै सकेका छैनन् । मदन आश्रितको मृत्युलाई स्वाभाविक रूपमा लिनेहरू हिजोआज मदन भण्डारीजस्तो नेता देशका लागि चाहिने रहेछ भन्न थालेका छन् । राजा महेन्द्रले विकासको सपना देखेका थिए भनिन्छ । विश्वेश्वरप्रसाद कोइरालाले पनि विकासको भिजन अघि सार्नुभएको थियो । महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरिदिए । जसकारण बिपीको सपना पूरा हुन पाएन । मदन भण्डारीले समग्र आर्थिक, सामाजिक, शैक्षिक, सञ्चारलगायत भौतिक विकासको कुरा गर्नुभयो, त्यो सपना पूरा हुन पाएन । एकपटक मात्रै सांसद रहनुभयो । 

मदन भण्डारी चढेको जिप २०५० साल जेठ ३ गते अपराह्नतिर त्रिशूलीमा खस्यो । कोही त्रिशूलीमा खसेको होइन, खसाइएको हो भन्छन् । त्यसको केही प्रमाण दिन्छन् तर यसको आधिकारिकता भेटिँदैन । मदन भण्डारी चढेको जिपका चालक अमर लामा केही वर्षसम्म जीवितै थिए । पछि उनलाई गोली हानेर मारियो । अमर लामाले के गल्ती गरेका थिए, प्रष्ट छैन । मदन भण्डारीको हत्याको रहस्य पर्दाफास गर्नुपर्छ भन्नेहरू राजा वीरेन्द्रको वंश विनाशको घटना पनि त रहस्यमय छ भनी जवाफ फर्काउने गर्छन् । धेरै राजाको मृत्यु रहस्यमय भयो भन्दैमा मदन भण्डारीको हत्या पनि रहस्यमय हुनुपर्छ भन्ने छैन । 

विश्वभर कम्युनिष्ट पार्टी सेनासहितो हुन्छ । जनताको मतबाट सत्ता प्राप्त गर्न कम्युनिष्ट पार्टीको हकमा सम्भव हुँदैन भन्ने आममान्यता थियो । तर मदन भण्डारीले कम्युनिष्ट पार्टीका सवालमा पहिले भइरहेका अभ्यासलाई बदल्ने काम गर्नुभयो । माक्र्सवाद प्रयोग गर्ने क्रममा रुसमा सेना बनाएर क्रान्ति गरियो । क्युबा, चीनमा पनि यस्तै गरियो । रुसी क्रान्ति मजदुरको नेतृत्वमा भयो । चीनमा किसानको नेतृत्व रह्यो । जतिबेला नेपालमा प्रजातन्त्रका लागि लडाइँ भइरहेको थियो, त्यतिबेला मदनले नै कांग्रेस र कम्युनिष्ट मिलेर राजाविरुद्ध संघर्ष गर्ने कुरा उठाउनुभयो । यद्यपि, यो पुष्पलालको लाइन थियो । नेपालमा कम्युनिष्ट पार्टीलाई जनताबाट अनुमोदन गराउने कुरालाई मदन भण्डारीले व्यवहारिक रूपमा प्रमाणित गर्नुभयो । 

एमाले र माओवादी केन्द्रबीच एकता भएको छ । क्रान्ति शान्तिपूर्ण रूपमा पनि हुन सक्छ भन्ने मदन भण्डारीको विचारले जितेको छ । मदनले उठाएका विषयमध्ये संविधानको सर्वोच्चता महत्वपूर्ण विषय हो । मदनले बहुलवादी खुला समाजको कुरा गर्नुभयो । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार मुलुक चल्नुपर्ने कुरा राख्नुभयो । यसैगरी मानवअधिकार रक्षाको कुरालाई उठाउनुभयो । मदन भण्डारीले कुनै पनि देशमा कम्युनिष्ट पार्टी सत्ता र प्रतिपक्षमा पनि हुनसक्ने भन्दै नयाँ प्रस्ताव राख्नुभएको थियो । नेपालमा केही समय यस्तो चलेको पनि हो । कानुनी राज्यको कुरालाई उहाँले अघि सार्नुभयो । वैदेशिक पुँजी र प्रविधि उपयोग गर्ने कुरालाई जनताको बहुदलीय जनवादमा समेट्नुभयो । यसैगरी क्षतिपूर्तिको नीति, वैदेशिक नीति, नेतृत्व र अधिनायकत्वको कुरा गर्नुभयो । विडम्वना उहाँले आफ्नो विचार प्रयोग भएको हेर्न पाउनुभएन ।

माक्र्सवाद जड विषय होइन । मदनले उठाउनुभएको विषय माक्र्सवादभन्दा बाहिरको होइन र थिएन । मदन भण्डारी आफैंले जनताको बहुदलीय जनवादलाई माक्र्सवादको सृजनात्मक प्रयोग हो भन्नुभएको थियो । उहाँले अघि सारेको विचारको कारणले गर्दा संसारभर कम्युनिष्ट आन्दोलन रक्षात्मक भइरहेको समय नेपालमा भने आक्रामक बन्न पुग्यो । विश्वभर कम्युनिष्टहरू अधिनायकवादी हुन्छन् भनेर आरोप लागिरहेका बेला नेपालमा भने कम्युनिष्टहरू लोकतान्त्रिक हुन्छन् भन्ने कुरालाई मदन भण्डारीले पुष्टि गर्नुभयो ।

टिप्पणीहरू