विगत नबिर्सौं वरिष्ठहरू !

  • श्याम रिमाल

पुष्पलालले बनारसमा भुटेको चना खाएर बनाएको नेकपा, तुलसीलाल अमात्यले रौतहटमा संगठित गरेको नेकपा, मनमोहन अधिकारीले अनुपम सरकार चलाएर अघि बढेको नेकपा, मदन भण्डारीले साइकल चलाएर ल्याएको जबजवादी नेकपा आज दुई तिहाइको नेकपा बनेको छ र यति भएपछि अरू केही चाहिँदैन भनेजस्तो गर्दैछ । सरकार चलाउने हतियार पार्टी कार्यकर्ता र तिनका गतिविधि भुत्ते भइरहेको बेला प्रतिपक्षी जनजागरण अभियान चलाउँदै अघि बढेको छ । नेकपा जनताबाट टाढिँदै गएको छ, जनस्तरमा उसका विचार र कार्यक्रम पुगेको छैन । पार्टीका निर्णय दुई पाइलटबाट जादु गरेजस्तो फुत्त–फुत्त झार्न थालिएको छ । कम्युनिष्ट पार्टीमा सामुहिक नेतृत्वको अवधारणा कता गयो ?

सत्तरी वर्षे सोभियत सत्ता कसरी ढलेको थियो ? बे्रजनेभ जिउभरि पदक लगाउँथे । कम्युनिष्ट नेतालाई त्यत्तिका पदक किन चाहिएको थियो ? वर्ग संघर्षको अवधारणा नै परित्याग भयो, पँुजीवादी र सर्वहारावादीलाई एकै छातामुनि ल्याइयो । सत्तामा रहेका नेता र नजिककाहरू सुख–सुविधामा चुर्लुम्म डुबे, पार्टीको सर्वसत्तावादभित्र भ्रष्टाचार नराम्ररी मौलायो । प्रशासन, सत्ता, सेनाका भरमा आफूलाई सर्वेसर्वा ठानिँदा जनता सडकमा उभिए र सोभियत संघलगायत युगोस्लाभिया, पूर्वीजर्मनी, चेकोस्लोभाकिया, हंगेरी, बल्गेरिया, रुमानिया, पोल्याण्डजस्ता पूर्वीयुरोपेली कम्युनिष्ट सत्ता तासको घरझैँ गल्र्यामगुर्लुम ढले । जनाधार नहुँदा कांग्रेसको दुई तिहाइको सरकार २०१७ सैनिक ‘कु’ मा परेर ढल्यो, त्यसले कांग्रेस मात्र होइन, प्रजातन्त्र वा संसदीय व्यवस्थाकै अवसान गरायो । 

एकल निर्णय गर्नु सर्वसत्तावादी चरित्र हो । प्रजातान्त्रिक एवं लोकतान्त्रिक चरित्र कम्युनिष्ट पार्टी हुनैपर्ने जबजको सिद्धान्त हो । दुई ठूला पार्टी मिलेपछि जबजको अस्तित्व कहाँ पुग्यो ? आफूमाथि नपरी नेकपाको महाधिवेशन पनि हुन दिइँदैन होला । तीन महिनामा हुनुपर्ने एकीकरण प्रक्रिया समाप्तिका लागि ठ्याम्मै एक वर्ष लाग्यो । अब हतार हतार पोलिटब्युरो सदस्य मनोनयन तथा जनवर्गीय संगठनमा हुने नियुक्तिले कति असन्तुष्टि देखिने हो, कतिपय जिल्ला नेतृत्व हचुवाका भरमै छानिए । 

सरकारले गर्ने नियुक्तिमा पनि योग्यताको कदर हुन सकेको छैन । कोही दोहो¥याएर खाइरहने, कसैले एकपल्ट पनि पालो नपाउने स्थिति छ । साहित्य एकेडेमीमा प्रा. गोपीरमण उपाध्यायजस्ता आउन सकेनन् । अर्जुन कार्की दोहोरिरहने, अञ्जान शाक्य जस्ताले पालो पाइरहने गर्दा राजदूतमा मिलन तुलाधरजस्ता बौद्धिक व्यक्तित्व पछाडि परिरहनु स्वाभाविकै भयो । 

अहिले लोकतन्त्र, गणतन्त्र ल्याउन अमूल्य योगदान गरेको प्रेस जगत्सँग सल्लाह परामर्श नगरी थुपैै्र राशिको जरिवाना र कैदका प्रावधानसहितको मिडिया विधेयक दर्ता भएको छ । जसका लागि हो, उसकै सुझाव सल्लाहबिना ल्याइने कानुन सर्वस्वीकार्य हुन सक्दैन । कानुन संहितामा पनि उसको स्वीकृति रहेन र कार्यदल गठन गर्नुपर्ने अवस्था आयो । मिडियालाई धेरै जिस्क्याइरहनु ठीक हुन्न । मिडिया लगातार नेकपा र उसको सरकारविरुद्ध लागिरह्यो भने भविष्य कहाँ पुग्ला ? मिडियासँग कस्तो तागत हुन्छ भन्ने कुरा ०४६ सालमा गृहमन्त्री निरञ्जन थापाले भनेकै हुन् निः बिबिसी नेपाली रेडियो मात्र रोकियो भने म पाँच मिनेटमै आन्दोलन दमन गर्न सक्छु । 

कहिले बालुवाटार प्रकरणमा नेकपाका महासचिव मुछिनु, कहिले मरिसकेको राजतन्त्रको भाषा ‘मेरो सरकार’ ल्याएर जग हँसाउनु, आफूले बोलेका कुरा संसद्को अभिलेखबाटै हटाउन बाध्य बनिनु नेकपाको दुई तिहाइको सरकार र सिंगो नेकपाको पक्षमा हुनै सक्दैन । अभिमान, सत्तासम्पत्ति, पुरातन सोचाइ र व्यवहार तथा ढोँग नेकपालाई डुबाउने आधार नबनून् । नेकपा डुब्यो भने यहाँ ३ करोड जनताको भविष्य चौपट हुन्छ । नेकपा बन्यो भने जिन्दगी सपारूँला भन्नेहरूको बिजोग हुन्छ । यहाँ रेल कुदाउनु छ, पानीजहाज गुडाउनु छ, दशौँ हजार मेगावाट बिजुली ल्याउनु छ, बूढाबूढीलाई सुरक्षा दिनु छ, युवालाई यहीँ काम दिनु छ, समृद्ध मुलुक बनाएर जनतालाई सुखी बनाउनु छ । 

टिप्पणीहरू