​कसले पो ग¥यो कुन्नि काइते काम

भिडन्त छ, बूढो बाघ र तन्नेरी स्यालको  । यो लडाइँमा कुनचाहिँ निर्माता डुब्ने र को उत्रने हो हेर्न बाँकी नै छ । चल्तापुर्जा निर्माता दीपकराज गिरी र अशोक शर्माको भिडन्त यस वर्ष पनि देखिनेछ । यिनको इगो सतहमा देखिएको थियो अघिल्लो दसैंताका । एकसाथ जुधे दीपकराज गिरीहरूको छक्का पञ्जा ३ र अशोक शर्माको जय भोले । यस वर्ष पनि दसैंताका नै जुध्दै छन् । 

८ जेठदेखि सिन्धुली, काभ्रेलगायत जिल्लामा पुगेर छ माया छपक्कै छायांकन सकाइसकेका छन् दीपकराजले । यता, इलामतिर पुगेर रातो टीका बनाइरहेका छन्् अशोक । र, यी दुवैको सिनेमा एकसाथ चल्दै छ हलमा । अशोकले छोरा अंकितका लागि चलचित्र बनाउँदै छन् । र, सार्वजनिक रूपमै दीपकलाई ‘काइते राजनीति नगर्न’ चेतावनीसमेत दिएका छन् । 

दासढुंगा नम्बर दुई
ऐतिहासिक घटनामा आधारित दासढुंगा चलचित्र बन्यो ०६७ सालमा । सदैव अलग धारका चलचित्र बनाउँदै आएका मनोज पण्डित निर्देशित यो चलचित्र युट्युबबाट हेर्नेहरूको संख्या समाचार तयार पार्दासम्म ६ लाख २८ हजार पुगिसकेको छ । दासढुंगाको दोस्रो सिरिज निर्माण हुने भएको छ । दासढुंगा महासचिव मदन भण्डारीको मृत्युमा आधारित थियो । ‘दासढुंगा २ ’ ले मदन भण्डारीको हत्या हो कि दुर्घटना भन्ने प्रश्नको चिरफार गर्ने निर्माता अपिल विष्ट सुनाउँछन् । उनका अनुसार सिनेमाले राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दुर्घटनालाई केलाउनेछ ।

चलचित्रको लेखन र निर्देशन कुमार भट्टराईले गर्ने छन् । कुशल पाण्डे निर्माता रहने सिनेमामा दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्ने तय भएको छ । यता, आगामी वर्ष दासढुंगा २ सहित आधा दर्जन आर्ट मुभी (वास्तविक जीवनको कथा) निर्माण हुने जनाइएको छ । कलाकर्मीका अनुसार रामबाबु गुरुङले कबड्डी ३, दीपेन्द्र के खनालले ‘आमा’, हेमराज बिसीले ‘घामड शेरे’ को निर्देशन गर्दै छन् । 

राहुललाई पछार्ने दुब्ली अभिनेत्री
स्मृति इरानीलाई नेपालीले चिनेको ‘तुलसी’ नामक पीडित, आँशु छाप बुहारीको रूपमा हो । त्यो भारतीय टिभी सिरियल नेपालका गृहिणीहरूले खुबै रुचाएका थिए । बीस वर्षअघि, घरमा एउटै टेलिभिजन सेट थियो । कथंकदाचित चाँडै घर पुगेका बेला समाचार हेर्ने हुटहुटी चल्थ्यो । तर, रिमोट कन्ट्रोल घरका महिला सदस्यहरूले कब्जा गरिसकेका हुन्थे । 

धेरैलाई थाहा नहोला यी ‘तुलसी’ त्यो सिरियलमा काम गर्नुअघि जिटिभी च्यानलमा ‘स्ट्रिंगर’ थिइन् । पूर्णकालीन ‘रिपोर्टर’ पनि होइन । जे समाचार फाइल ग¥यो, त्यो प्रसारित भए पैसा पायो, नत्र हात लाग्यो शून्य । त्यतिबेला उनका हाकिम थिए, समाचार सम्पादक सुधीर चौधरी । 
सुधीर हिजो जे थिए, आज पनि त्यही छन् । स्मृतिको उडानले भने आकाशभेदी उचाइ लिएको छ । नरेन्द्र मोदीको दल बिजेपीबाट नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोप पनि लाग्यो । तर, प्रधानमन्त्री मोदीले उनलाई शिक्षा तथा मानव संसाधनमन्त्री हँुदै सञ्चार र टेक्सटाइल बनाए । ‘तुलसी’ कि दुब्ली पातली निरीह इरानीको तौल पनि उकालो लाग्यो । 

यसपटकको चुनावमा उनले भारतीय कांग्रेसको परम्परागत सुरक्षित चुनाव क्षेत्रबाट कांग्रेस अध्यक्ष राहुल गान्धीलाई भारी मतको अन्तरले धूलो चटाइन् । अमेठी नामको यो क्षेत्र इन्दिरा गान्धी र राजीव गान्धीको अविजित किल्ला थियो । 

दुनियाँ कति चकित भयो, थाहा छैन । तर, सुधीर चौधरी पक्कै हतप्रभ भए । र स्मृति इरानीलाई आफ्नो ‘टक सो’ मा आमन्त्रित गरे । पहिलो प्रश्नको जवाफ दिनुअघि उनले भूमिका बाँधिन्, ‘सर, म तपाईंको पार्टटाइम संवाददाता थिएँ नि कुनै बेला । तपाईं मेरो हाकिम हुनुहुन्थ्यो । मैले आफ्नो राजनीतिक यात्रा एउटा सामान्य पारिवारिक परिवेशबाट शुरु गरेकी हुँ । तपाईं त्यसको साक्षी हो ।’

चौधरी किंकर्तव्यविमूढ भए । स्वर ठूलो पार्ने पत्रकार वा अहिलेको जमानामा ‘टक शो होस्ट’ को आकांक्षा हुन्छ, आफ्नो पाहुनालाई दपेटेर ठालु बन्ने । तर, इरानीको सौम्यताले चौधरीलाई त्यो मौका दिएन । उनले कार्य क्रमको बाँकी अंश इरानीको प्रशंसामा खर्च गरिदिए । 

टिप्पणीहरू