जम्मा एउटा कागजले जीवनमा
कसको विश्वासमा कसले ग¥यो घात ? को फस्यो ? प्रहरी अनुसन्धानपछि नै उजागर होला । तर, अहिले यही लफडा चलिरहेको छ कांग्रेसनिकट दुई कलाकर्मीबीच ।
यही लफडामा फस्दा बूढेसकालमा हनुमानढोका (टेकु) धाउँँदै छन् कांग्रेसनिकट कलाकर्मी । श्रीमती बितेर शोकमा रहेका कांग्रेसनिकट साँस्कृतिक संघका अध्यक्ष । कांग्रेस निकटकै चलचित्रकर्मी सुष्मा कार्कीका कारण उनले जीवनभरको मिहिनेतले आर्जेको प्रतिष्ठा क्षणभरमै माटोमा मिल्न लागेको हो । साँस्कृतिक संघले पुस्तक प्रकाशनको तयारी गरिरहँदा सहयोग मागेका थिए सुष्मासँग तीर्थले । मागेबमोजिम सुष्माले रकम सहयोग गरिन् र थापालाई एउटा कागजमा हस्ताक्षर गर्न लगाइन् । वैदेशिक रोजगारीसम्बन्धी ।
तीर्थले सोधेका पनि हुन्, केका लागि ? सुष्माले जवाफ दिइन् ‘दाजु, यो सबै मसँगै रहने हो केही फरक पर्दैन ।’ विश्वासका आधारमा सही त गरिदिए । तर, त्यही हस्ताक्षर अहिले गलपासो बनेको छ । ४ लाख ७५ हजारको कागजमा सही गराइएको थियो । र, त्यसैलाई देखाएर तीर्थसँग सुष्माले कस्न थालेकी छन् । तीर्थले ७५ मंसिर २९ गते २ लाख र पुस ३ गते २ लाख ७५ हजारको चेक काटिदिए एभरेष्ट बैंकको । उनी चेक साट्न गइन् तर बाउन्स । यसबीच एकपटक पनि फोन सम्पर्क गरिनन् । सीधै मुद्दा दर्ज गरिदिइन् र सातादेखि तीर्थ झोलाभरि पैसा बोकेर हनुमानढोका (टेकु) धाइरहे । तर, उनी त्यहाँ पुग्छन् मात्र । सुष्मा नआइदिँदा केस साम्य भएको छैन ।
सुष्माका अनुसार तीर्थले साँस्कृतिक संघ स्थापनालगत्तै विराटनगरमा सम्पन्न कार्यक्रमको सम्पूर्ण खर्च, गीतको एल्बम निकाल्दा, घरभाडा तिर्दा, दुईपटक घरायसी सापट दिइएको रकम हो त्यो । पैसा माग्दा उल्टै भागेर हिँँँडेको, फोन म्यासेज रिप्लाई नगरेको आरोप छ । सुष्माका अनुसार तीर्थले कसैसँग वैदेशिक रोजगारको कागज गरेर लिनुभएको पैसामा श्रमको मुद्दा हाल्न खोजिएपछि उनले त्यो मुद्दा लाग्नबाट बचाएकी थिइन् । यस विषयमा तीर्थलाई जनआस्थाले सम्पर्क राख्दा भावुक हुँदै भने, ‘सायद जीवनभरको कमाइ जाने बेला भयो ।’
सानो चित्त, चसक्क मनभित्र
एकातिर टाल्दा अर्काेतिर भ्वाङ । यस्तै दरिद्रता देखाएको छ नेपाल प्रज्ञा प्रतिष्ठानले । ढिलैभए पनि कविले उठाउँदै आएका केही कुराको सुधार प्रयास त भयो । यसपटकको राष्ट्रिय कविता महोत्सवमा वाचनका आधारमा पनि नम्बर दिने व्यवस्था राखियो । यसअघि यस्तो व्यवस्था थिएन । वाचनका लागि नम्बर छुट्ट्याइँदैनथ्यो । यसपटकदेखि वाचनका लागि १० अंकभार छुट्ट्याइयो । यसको प्रभाव के हुन्छ भने अब निर्णयको गोजीबाट मात्र उत्कृष्ट कवि छान्ने परम्पराको अन्त्य हुन्छ । अहिले पनि केही कवि असाध्यै राम्रा कविता लेख्छन् । तर, वाचन कलामा उनीहरू निपुण छैनन् । केहीमा वाचन गर्ने खुबी त हुन्छ तर लेख्न जान्दैनन् ।
यस्तो हुँदा वााचनका लागि छुट्ट्याइएको १० अंकले धेरै ठूलो असर पार्ने देखिँदै छ । दोस्रो कविले पाएको पुरस्कारमा समेत कर काट्ने चलन हटेको छ । एकेडेमीबाट पुरस्कृतमध्ये प्रथम, द्वितीय र तृतीयले क्रमशः ३० हजार, २५ हजार र २० हजार राशिको पुरस्कारमा समेत २५ प्रतिशत कर काटिँदै आएकामा त्यो परम्परा पनि तोडिएको छ । यो सुधारको पाटो हो । तर, कविलाई एकेडेमीले नै हेलोहोचो गरेको अर्काे उदाहरण पनि देख्न पाइयो यसपटक । यसअघि पुरस्कृत कविलाई ताम्रपत्रले सम्मान गरिँदै आएको थियो । यो आजदेखि होइन, २२ सालदेखिको परम्परा हो । तर, प्रज्ञा प्रतिष्ठानले हदैसम्मको दरिद्रता देखाएको कवि तथा साहित्यकारको आरोप छ । ताम्रपत्र दिने परम्परा तोडेर यसपटकदेखि प्लाष्टिकको ताम्रपत्र दिन थालिएको छ । ४ वर्षसम्म अदालतको लफडा व्यहोरेर हालै मात्र प्रथम कविका रूपमा तामपत्र थापेका कवि प्रोल्लास सिन्धुलीयले प्रज्ञा प्रतिष्ठानले कविलाई हेपेको र तुच्छ दरिद्रता प्रदर्शन गरेको आरोप लगाए । बरु रकम नदिए केही फरक नपर्ने तर ताम्रपत्र दिनुपर्ने कविको माग छ । यस पाटोमा एकेडेमी चुकेको छ ।
टिप्पणीहरू