अर्जुन दास हत्या प्रकरण : आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

अर्जुन दास हत्या प्रकरण : आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीको जोशीपुरका अर्जुन दास हत्या प्रकरणका दोषीलाई पक्राउ नगरेको भन्दै आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

दोषीलाई पक्राउ गर्न प्रहरी प्रशासनले आनाकानी गरेको मृतकका आफन्तको आरोप छ । मृतकका आफन्तले बिहीबार दोषीलाई पक्राउ गर्न माग गर्दै जानकी गाउँपालिका कार्यालय र वडा नम्बर ९ को कार्यालय बन्द गरेका थिए ।

जानकी– ९ का २५ वर्षीय अर्जुन दासको गत शुक्रबार अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । मृतकको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ । हत्यारालाई पक्राउ नगरेसम्म शव नबुझ्ने आफन्तको अडान छ ।

हत्यारालाई पक्राउ गर्न माग गर्दै आज मृतकका आफन्तले कैलालीको लम्कीस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । राजमार्ग साँझ ४ बजेसम्मका लागि अवरुद्ध रहने संघर्ष समितिका संयोजक ललित परियारले बताए । हत्यामा संलग्नलाई पक्राउ नगरे चरणबद्धरुपमा आन्दोलन गरिने उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले भने हत्यामा संलग्न भएका व्यक्तिको खोजी कार्य जारी रहेको बताए । ‘प्रहरीले आफ्नो तरिकाले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ,’ जोशीले भने, ‘आन्दोलन गरेर अहिल्यै दोषी समातिने हैन, बरु आन्दोलन छोडेर अनुसन्धानमा सहयोग गरे छिटो सफलता मिल्न सक्दछ ।’

हत्यामा संलग्न व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको उनले बताए । स्थानीय एक युवकले अर्जुन दाषको आफूले हत्या गरेको र आफू अहिले भारततर्फ गइरहेको भन्दै गरिएको फोन रेकर्ड प्रहरीले प्राप्त गरेको बताइएको छ ।

टिप्पणीहरू