गल्ती गर्ने, जागिर दिने

लुम्बिनी मेडिकल कलेज पाल्पाको पुल्पुलिएको सन्तानजस्तो बनेको छ । जनताले चाहिन्न भनुन् सयौं डाक्टर उत्पादन गरिरहेको छ, चाहिन्छ भनुन् महिनैपिच्छे समस्या खडा गरिरहेको छ । तानसेन नगरपालिका–९ तिलाहारकी जमुना रानाले अस्पतालमै बच्चा जन्माइन्, परिवारमा खुशियाली छायो । जन्मेको २ घण्टा नबित्दै आमासँगै सुतेको बच्चा अस्पतालबाटै हरायो, परिवारमा रुवाबासी चल्यो । प्रसूति कक्षबाटै सयौं स्वास्थ्यकर्मी, चौकीदार, अस्पताल प्रशासनको आँँखा छलेर एक महिलाले बच्चा बोकी हिँडेको जब चर्चा चल्यो, नर्सहरू बल्ल साइँँसुइँँ गर्न थाले । 

दुई घण्टापछि बल्ल अस्पताल प्रशासनले प्रहरीमा खबर ग¥यो । प्रहरीले जब सीसी क्यामेराको फुटेज खोज्यो, ‘झुण्ड्याइएको क्यामेरा त देखाउने मात्र रहेछ । खिच्ने र अभिलेख राख्ने प्रयोजन रहेनछ ।’ प्रहरीले अस्पताल बाहिर प्रकाश श्रेष्ठले जोडेको क्यामेराको भिडियो हेर्दा महिलाले बच्चा बोकेर हिँँडेको देखियो । कार्यकारी अध्यक्ष गोपाल पोखरेल र अस्पताल निर्देशक सन्तोषलाल श्रेष्ठ अवाक बने । प्रहरी उपरीक्षक दीपेन्द्र जीसीले प्रसूति कक्ष अवलोकन गरे ।  पोखरेल र श्रेष्ठले ड्युटीमा रहेकी नर्स र चौकीदारसँँँग सोधपुछ गरे र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाए । लुकाउन खोजेको घटना एकाएक फैलियो । पत्रकारहरू अस्पताल पुगे । एकले बिराउने सबैलाई पिराउने भनेझैं लुम्बिनी मेडिकल कलेजले बिरामीका कुरुवा र पत्रकारलाई पनि भित्र छिर्न दिएन । पत्रकारले छोरा गुमाएकी आमा जमुना, बाबु किसन रानाको बोली र तस्बिर सुनाउन, देखाउन थाले । 

बच्चा चोर्ने महिला गल्याङ नगरपालिका–५ घर भएकी कालीगण्डकी जलविद्युत् परियोजना ड्यामसाइट मिर्मीमा कार्यरत विमकला पाण्डे थिइन् । नवशिशुलाई सनसनीपूर्ण टेलिचलचित्रमा झैं अपहरण गरेर मिर्मी पु¥याई अफिसकै क्वार्टरमा सुताइन् । पहेंलो बिगौती दूध खान नपाएको बच्चा रुन थाल्यो । छिमेकीले थाहा पाए । गोप्य रूपमा पत्रकारलाई खबर गरे । रातभर खोजी भइरहेको बच्चाको सूचना  पाउनेबित्तिकै प्रहरी मिर्मी पुग्यो । विमला भनिने विमकला पाण्डेलाई नियन्त्रणमा लियो । उनी अहिले पश्चातापले जल्दै अपहरण तथा बेचबिखनको फैसला सुन्न हिरासतमा बसेकी छन् ।

मेडिकल कलेज भने विगतमा झैं बच्चाको बाबुलाई रोजगारी दिने, आमा र बच्चाको स्वास्थ्यको जिम्मेवारी लिने सम्झौता गरेर उम्किएको छ । एक होटल व्यवसायी भन्छन्, ‘गल्ती गर्छ, जागिरको प्रलोभन देखाएर घटना सामसुम पार्छ ।’ फेरि त्यस्तै गरे । सिडिओ, एसपी यस्ता सम्झौता थाहा नपाएझैं गर्छन् । यो अस्पतालले सार्वजनिक जग्गा मिचेर घर बनाउने, प्रभासको सौन्दर्यको रूपमा रहेको तालमा प्रदूषित फोहोर पानी फाल्ने, दुई÷तीन पटक शल्यक्रिया गर्ने, डाक्टरको गल्तीले बिरामी मर्नेजस्ता घटनामा प्रभावितलाई जागिर दिने भनेर ठुल्ठूला घटना पटकपटक लुकाउने गरेको छ ।

कृषि, उद्योग, पर्यटनलाई प्राथमिकता दिएका तानसेनवासी शिक्षा, पर्यटनमा सहयोग पुगेको छ भनेर अस्पतालका कमजोरीमा मौन बसेका छन् । वर्षैपिच्छे फेरिने सरकारी कर्मचारीका लागि अस्पताल कमाइ खाने थलो बनेको छ । आफूहरू अपांगता भएकाले जन्मने बच्चाको सुरक्षाका लागि अस्पताल आएका राना परिवार घरभन्दा असुरक्षित रहेछ भन्न थालेका छन् । स्वास्थ्य बिमा कार्यक्रमबाट करिब २५ करोड रुपैयाँ भुक्तानी दिएको सरकारले गल्ती गर्ने अस्पताललाई कुनै कारवाही गर्ने छाँट देखिन्न । ढुंगा, गिट्टी, बालुवा र छडका व्यापारीे गोपाल पोखरेलले कुनै दिन जसरी तसरी पैसा कमाएपछि सरकारलाई कति सघाइयो भन्न बेर लाउन्नन् । 

टिप्पणीहरू