​अफवाहको निम्ति ठाउँ अनेक

नेपालमा छिनमै गलत प्रचार र हौवा कसरी फैलिन्छ भन्ने कुराको उदाहरण । विदेश सचिव तथा नेपालका लागि पूर्वभारतीय राजदूत श्यामशरणले प्रचण्डलाई भेटेपछि नेकपामा झगडा चर्किएको, नेताबीच दरार पैदा भएको हल्ला चल्यो । 

यस्तो हल्लामा नमिलेको कुरा के भने, यो अहिलेको हैन, डेढ–दुई महिना पहिले श्रीलंकामा जलवायु परिवर्तनसम्बन्धी बैठकको प्रसंग हो । मुस्लिम आतंकवादी समूहले पश्चिमी धर्मका चर्चलाई लक्ष्यित गर्दै विभिन्न होटलमा आक्रमण गरेपछि उक्त बैठक नेपालमा सारिएको थियो । श्यामशरण त्यही बैठकमा भाग लिन काठमाडौं ओर्लिएका थिए । उनी सचिव भएकै बेला प्रतिगमनविरुद्ध आन्दोलनरत दल र भूमिगत नेकपा (माओवादी) बीच दिल्लीमा १२ बुँदे सम्झौता भई आन्दोलनले गति लिएको थियो । यस्तो भावनात्मक तहको सम्बन्धलाई अगाडि सार्दै उनैले ‘बसौँ, गफ गरौँ’ भनेका रहेछन् । श्यामशरण होटल डे’ला अन्नपूर्णमा बसेका थिए । तर, प्रचण्डलाई भेट्न खुमलटार नै पुगे । त्यसमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, कृष्ण सिटौला, अमरेशकुमार सिंहहरु पनि थिए । कुरा गरे, सँगै खाना खाए । १२ बुँदे सम्झौता भएको उहिल्यै ।

त्यसमाथि कंग्रेस आई शक्तिमा हुँदा टिपिएका श्यामशरण र शिवशंकर मुखर्जी, एसडी मुनीहरु अहिले भाजपाको हालिमुहाली चलेको बेला भूमिकाविहीन छन् । भाजपाले एस.जयशंकरलाई विदेशमन्त्री बनाएजस्तो अहिले आफूद्वारा अघि बढाइएका कूटनीतिक व्यक्तिलाई मात्रै स्थान दिन थालेको छ । यस्तो बेलामा प्रयोजनविहीन बनाइएका पुराना कूटनीतिक व्यक्तिहरुको न अंकगणित, न ज्यामिती, केही मिल्दैन । तत्काल नेपालमा राजनीतिक समीकरण बद्लिने सम्भावना पनि छैन । मिति, तथ्य र प्रमाण केही नहेरी हल्ला फिँजाउने चलन नेपालमा कस्तो रहेछ, यही घटनाले पनि बुझाउने पर्यवेक्षकहरुको टिप्पणी छ ।

टिप्पणीहरू