​विश्वासको कप्टेरो, आफैं अप्ठेरो

आफैँ–आफैँ नमिल्नेले अरुका कुरा के मिलाउलान् ! शान्तिसुरक्षाको बागडोर आफ्नो हातमा भए पनि सल्लाह नगरी गृहमन्त्री रामबहादुर थापा (बादल) ले कुनै काम गर्दैनन् । तर, एक्लै भिडिरहेजस्तो देखिन्छन् । उनको बचाउ गरिदिने कसले ?

सर्लाही र भोजपुरमा आफ्नै पूर्वसहयोद्धा (विप्लवसम्बद्ध) मारिए । संसदीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने विवादले पेचिलो मोड लिइरहेको छ । राजनीतिक सहमतिका लागि गृहले नागरिकता विधेयक फिर्ता लिएकै हो । यस्तोमा पहिला–पहिला दुई दिनमा सहमति जुटाएर छलफलमा लैजाने काम हुन्थ्यो । एमालेका महासचिव ईश्वर पोखरेल सरकारमा छन् । यस्तोमा पार्टी चलाउने दुई अध्यक्ष र महासचिव विष्णु पौडेलले मात्रै हुन् । तर महासचिवलाई पनि ललिता निवास प्रकरणमा मुछिएको छ । नेकपाकै सरकारका उपप्रधानमन्त्री यो विषयमा छानबिन गरेर टुंगो लगाउनुपर्छ भनी कराइरहेका हुन्छन् । यसलाई समन्वयको अभाव भनिन्छ या एकले अर्कोलाई बचाउनुपर्छ भन्ने ‘कामरेडी’ व्यवहारको अभाव ? पाए एउटाले अर्कोलाई छिर्के हानेर चिप्ल्याउने खेल जताततै छ ।

पहिला–पहिला सदन अवरुद्ध भएको बेलुकै छलफल गरिन्थ्यो र समाधान खोजिन्थ्यो । माधव नेपाल प्रधानमन्त्री भएका बेला माओवादीले पाँच दिनसम्म उपत्यकामा नाकाबन्दी लगाएर सिंहदरबार प्रवेश अवरुद्ध गर्दा पनि कहिले बालुवाटार त कहिले सिंहदरबारमा छलफल चलिरहन्थ्यो । बाहिर ‘कठपुतली प्रधानमन्त्री’ भनिए पनि त्यसो भन्ने पार्टीकै नेतासँग डल्लु पुगेर रातिराति मापसे पार्टी चल्थ्यो । प्रचण्ड र बाबुरामले त्यही विरासत कायम राखे । सभामुख थिए, सुवासचन्द्र नेम्वाङ । अवरोध खोल्न उनी पनि अहोरात्र जुटेकै हुन्थे । अहिले विप्लव समूहमाथिको इन्काउण्टर काण्डमा संसदीय छानबिन समिति बनाउने माग विपक्षीले राखिरहने, सरकारले नमान्ने अवस्था छ । सभामुखको भूमिका छ, सुन्ने मात्रै । पार्टी र सरकारको नेतृत्वबीच पानी बाराबारको स्थिति छ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीले भन्दा पहिला बोल्न नदिएकै कुरामा भएको विवाद हेरौँ । पहिला कार्यव्यवस्था समितिको बैठकले दलहरुबीच छलफल गराएर यस्ता विवादको टुंगो लगाउँथ्यो । त्यसपछि सदनका काम–कारवाही अघि बढ्थे । प्रतिपक्षीका हकमा सदनमा बोल्न समयको पावन्दी लगाइँदैनथ्यो । यो प्रकरणमा पनि त्यो विधि अपनाएको भए यति मामुली कुरामा ठूलै बहस गर्नुपर्ने थिएन होला । अहिले सदन र सरकारबीचको द्वन्द्व फरक विचारका कारण होइन, आ–आफ्नै रडाकोले गर्दा भएको पर्यवेक्षकहरु बताउँछन् । 

टिप्पणीहरू