मिनरल वाटरसहित शौचालयमा मान्यज्यू

चीन सरकारले सभा–सम्मेलन गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाएर अनुदानमा हस्तान्तरण गरेको बानेश्वरस्थित संसद भवनको उचित रेखदेख र व्यवस्थापन गर्न नसक्दा हाम्रा विधायकहरूले कहिलेकाहीँ धुरुक्क हुनुपर्ने स्थिति छ । त्यहाँ पुग्दा ‘खानेपानीको बोतल बोकेर शौचालयतिर कुद्नुपर्ने, अवस्था रहेको एक माननीयले जनआस्थालाई बताए ।

करिब २५ वर्ष पुरानो भवन । कतै भित्ता चर्केको त कतै पानीको पाइप फुटेको । तर, मर्मत–सम्भार गर्नुपर्ने निकाय ‘कानमा तेल’ हालेर बसेको । संसद् सचिवालयले वार्षिक १८ करोड भाडामा लिएको सो भवनको रेखदेख गर्ने जिम्मेवारी शहरी विकास मन्त्रालय मातहत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको हो । रेखदेख र चाहिने सामग्री व्यवस्थापन गर्ने जिम्मेवारी उसैलाई छ । चारवर्षे कार्यकाल पूरा गरी दुई साताअघि मात्र बाहिरिएका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यको ध्यान गरिमामय संसद्को बैठक बस्ने भवनको सुधारतर्फ कहिल्यै गएन । ६ जना कर्मचारी करारमा राख्न १७ लाख रुपैयाँ घुस लिएको अडियो र भिडियो सार्वजनिक भयो । अख्तियारमा उजुरी प¥यो । तर, केही कारबाही भएन ।

संसद् सचिवालय स्रोतका अनुसार उनी त्यहाँ कार्यरत रहँदा चण्डी ढकालको लगानी रहेको बेइजिङ डक रेष्टुरेण्टबाट दशौं लाखको पानी किन्दै आएको थियो । उनी रिटायर्ड भएसँगै अहिले संसद् भवन हेर्ने जिम्मेवारी पाएका छन् मन्त्रालयका सहसचिव कृष्णप्रसाद दवाडीले । दवाडीका अनुसार संसद् भवन रेखदेखका लागि ९३ अस्थायीसहित १०७ कर्मचारी कार्यरत छन् । त्यहाँ माननीयहरूलाई यस्ता समस्या नहोस् भन्ने हेतुले १३ लाख लिटर अट्ने दुईवटा ट्यांकी छन् । तर, ट्यांकी मात्र भएर के गर्नु ? केयुकेएल र खानेपानीले नदिएपछि केही हजार लिटर पानी ट्यांकरबाट झारेर गर्जाे टारिँदै आएको छ । तर, सयौं संख्याका माननीय, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीसम्मको बेला–बेला भीड लाग्दा यसरी झारिएको पानी भइदिन्छ हात्तीको मुखमा जिरा । त्यही कारण हो कहिलेकाहीँ शौच बस्न बोतलको पानी बोकेर माननीयहरू दौडिनुपरेको ।

त्यहाँको ट्यांकीबाट पानी ओभरफ्लो भएर ५/६ घण्टासम्म खेर जाने र दैनिक यस्तो प्रवृत्ति दोहोरिँदा मासिक ८ सयदेखि हजार युनिट बत्तीको बिल चढ्ने गरेको स्रोतको दाबी छ ।  सो विषयमा जनआस्थाले निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका सहसचिव दुवाडीसँग जिज्ञासा राख्दा लाखौं लिटरको ट्यांकी भरिने सम्भावना न्यून भएको जिकिर गरे । ‘एक त हामीलाई खानेपानीले पानी नै दिएको छैन, ट्यांकरबाट झारेर उपयोग गरिरहेका छौं’, उनले भने, ‘एमुनिया मिसिएको पानी भएको हुँदा माननीयहरूलाई पिलाउन छाडिएको र बोतलकै पानी पिलाइने गरेको छ ।’ उनले गार्डेनमा हालिएको पानीलाई ओभरफ्लो भएको रूपमा नबुझिदिन विनम्र आग्रह गरे ।
 

टिप्पणीहरू