​पद नस्विकार्नेहरूको बढ्दो पंक्ति

सत्तारुढ नेकपाको सुदूरपश्चिम प्रदेशमा सांगठानिक पद नस्विकार्नेहरू बढ्न थालेका छन् । नेता खगराज भट्टले डडेलधुराको इञ्चार्ज पद अस्वीकार गरेका छन् । जनयुद्ध लडेका उनले जुनियरमातहतमा इञ्चार्ज नहुने बताए । ‘म ०६० सालदेखि केन्द्रमा छु’, उनले भने । भट्ट निकटस्थका अनुसार ०६० सालपछि केन्द्रमा पुगेका कर्ण थापा प्रदेश अध्यक्ष र नेपबहादुर चौधरी सचिव छन् । 

यसअघि डडेलधुरामै डा. तारा जोशीले जिल्ला सचिवको पद अस्वीकार गरेका थिए । उनले पनि आफूभन्दा मुनिका पूर्वमाओवादीलाई अध्यक्ष बनाएकाले सचिव बस्न नमानेको बताइन्छ । जोशीले तीन पटक तत्कालीन एमालेको नेतृत्व सम्हालिसकेका छन् ।

बझाङमा दिलबहादुर सिंह र दार्चुलामा रामदत्त जोशीले पनि जिल्ला सचिव पद अस्वीकार गरेका थिए । सिंह र जोशी तत्कालीन एमाले अध्यक्ष हुन् । उनीहरूले पनि पूर्वमाओवादीका जुनियर नेता अध्यक्ष भएकोमा असन्तुष्टि जनाउँदै पद अस्वीकार गरेका थिए । डडेलधुरा, बझाङ र दार्चुलामा अहिलेसम्म सचिव बनाइएको छैन । 

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई संगठनको जिम्मेवारी दिइएको छैन । उनी निकटले भने डोटीको इञ्चार्ज दिने भनिएको थियो तर मुख्यमन्त्रीले दोहोरो जिम्मेवारी लिनुहुन्न भन्ने मान्यताले पद छाडेको बताउने गरेका छन् । 

सुदूरपश्चिमका नौ जिल्लामा पाँच पूर्वएमाले र चार पूर्वमाओवादीले इञ्चार्जको जिम्मेवारी पाएका छन् । जिल्ला अध्यक्षमा पनि पाँच पूर्वएमाले र चार पूर्व माओवादी छानिएका छन् । गुटगत हिसाबले भने जिल्ला इञ्चार्जमा प्रचण्डका तीन, वामदेवका तीन, बादलका एक र ओली–माधव दुवैतिर ठिक्क हुने दुई जना छन् ।

टिप्पणीहरू