दिउँसै मन्त्रालयमा मदिरा दन्काउँदा

मोजमस्ती र रामरमिताको कारण सधैँँ विवादमा पर्दै आएका नेपाल सरकारका सचिव मनोज घिमिरे १ नम्बर प्रदेश सरकारबाट पनि कारबाहीमा परेका छन् ।

मुख्यमन्त्री शेरधन राई मातहत रहेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव घिमिरेलाई दिउँसो रक्सी पिएर उत्पात मच्चाएको र आर्थिक वर्षको अन्तमा ठेकेदार र कर्मचारीसँग अवैध असुली गरेको सूचना आएपछि प्रदेश सरकारको आग्रहमा संघीय सरकार मातहत खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । यही असोजमा अवकाश हुन लागेका घिमिरेले आफ्नो क्वार्टरमा बोलाएर ठेक्कापट्टा र कर्मचारी सरुवा बढुवाको बहानामा ५ हजार पनि नछाडी असुली गरेका थिए । यति मात्र हैन घरधनीलाई दिउँँसै रक्सी खाएर हल्ला नगर्नु भन्दा ‘तेरो घरको मोल कति हो भन् अहिले नै खनखनी गनिदिन्छु’ भन्दै धम्क्याएका थिए । पहिले विराटनगर बस्ने घिमिरेलाई तत्काल उपमहानगरपालिकामा काम गर्दा  रक्सी पिएपछि साँँझ विराटनगरका चौडा सडक पनि साँघुरो हुने गथ्र्याे ।  

सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयका प्रमुख भीम गौतमले पनि घुस लिएको खुलेपछि उनलाई मुख्यमन्त्रीको कार्यालयमा झिकाइएको छ । ३० असारमा प्रदेश सरकारमातहत भोजपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख मोहनबाबु यादव १ लाख ८० हजारसहित रंगेहात पक्राउ परेका थिए । यसरी कार्यालय प्रमुख र मन्त्रालयका सचिवले नै आचरणविपरीत काम गर्न थालेपछि मुख्यमन्त्री शेरधन राईलाई यिनले सबैभन्दा गन्हाउने प्रदेश पो बनाइदिने हुन् कि भन्ने चिन्ता पलाएको छ । यसैले प्रदेश सरकार बनेको डेढ वर्षपछि पहिलोपल्ट ६ साउनमा आफ्नै कर्मचारीको   आकस्मिक बैठक डाकेर आचारविपत काम गर्नेलाई कडा कारबाही गर्न बाध्य हुने चेतावनी दिँदै सबैको सातो लिएका छन् । माथि पठाउनुपर्छ भन्दै घुस माग्ने गरेको जानकारी पाएका मुख्यमन्त्रीले कर्मचारीलाई चेतावनी दिँदै   भने, ‘माथि भनेको कहाँ हो, को  छ त्यसरी घुस लिने ?’

प्रदेशका प्रमुखसचिव सुरेश अधिकारीले कार्यालय प्रमुखहरू घुससहित समातिनु, छापा मारिनु लज्जास्पद भएको बताए ।  अधिकारीले भने, ‘सबै कर्मचारीको सयमा सय नम्बर आउने तर कार्यालयको प्रगति भने ४० प्रतिशत मात्रै हुने यो मिल्ने विषय होइन, यसैले अब मूल्यांकनलाई नै पुनर्मूल्यांकन गर्र्नुपर्ने बाध्यता आइपरेको छ ।’

टिप्पणीहरू