सबैतिरबाट आएको साझा संकेत

समानुपातिक प्रणालीबाट संसद छिर्ने साना दलहरूले आउँदो चुनावमा कस्तो भूमिका खेल्लान् ? वा, सरकारले उनीहरूका लागि केही खुुकुलो प्रावधान बनाउला कि नबनाउला ? केही निश्चित छैन । तर, यसमा छिमेकतिरबाट केही चासो भने अवश्यै आएका छन् ।

जसरी स्थानीय चुनावमा कांग्रेस र माओवादी मिले अनि संघीय र प्रदेश संसदको निम्ति एमाले र माओवादीले तालमेल जुटाए, त्यसरी नै अबको चुनावमा मधेसी र साना दलहरू मिल्नुपर्ने स्थितिको संकेत मिल्दै छ । किनभने, चुनावको मुखमा नयाँ थ्रेसहोल्ड कायम गरिँदै छ । अहिलेको डेढ प्रतिशतलाई ३ वा ५ प्रतिशत कायम गरिने सम्भावना छ । अहिलेसम्म उपेन्द्र यादवले राजपाको एकता प्रस्तावबारे सकारात्मक टुंगो दिएका छैनन् । उपेन्द्रहरू हृदयेश त्रिपाठी, बृजकुमार गुप्ताजस्तै नेकपासँग सहकार्यमा जाने पनि हुनसक्छ । त्यस्तो अवस्थामा राजेन्द्र महतोहरू अहिले संसदमा जस्तै कांग्रेससँग जाने सम्भावना रहन्छ ।

तर, मधेसी दलबीच कुरा नमिलिरहँदा भारतीय राजदूत लो प्रोफाइलमा बसेर डिसिएम अजितकुमारलाई राजनीतिक मामिलामा सक्रिय गराएका छन् । विदेशमन्त्री एस.जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पद पाउनमात्र भाजपा भएका हैनन् । उनीहरूको राँैं–रौँमा हिन्दूत्व छ । दूतावासमा पनि त्यसको प्रतिबिम्ब देखिन्छ । विभिन्न सरोकारवाला व्यक्ति राजदूतलाई भेट्न जाँदा उनी अजितकुमारलाई देखाएर  पन्छिन्छन् । बुझिएअनुसार, अब भारतले हिन्दूपक्षधर शक्तिलाई एक ठाउँमा ल्याउन प्रयास गर्नेछ । दुई मधेसी दल र राप्रपालाई मिलाउने उनको कोसिस हुनेछ । कांग्रेस, मधेसी र राप्रपा गरेर तीन शक्तिबीच गठबन्धन गराउने प्रयास पनि जारी छ । उनीहरूलाई के थाहा छ भने, सिके राउत केपी ओलीकै ईशारामा चल्छन् र उनी मधेसी दललाई साइजमा ल्याउनका निम्ति प्रयोग भएका हुन् ।

यसैबीच, भारतीय राष्ट्रपति रामनाथ कोविदको भ्रमण, विदेशमन्त्री एस. जयशंकर र नेपाली समकक्षीबीचको भेटघाटजस्ता विषय टुंगिएका छैनन् । अगष्टमा जी–सेभेन राष्ट्रहरूको बैठक फ्रान्समा आयोजना हुँदै छ । आउटरिच व्यक्तिका रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाइएको छ । त्यसो हुँदा विदेशमन्त्री पनि जाने नै भए । सेप्टेम्बरमा न्युयोर्कमा संयुक्त राष्ट्रसंघको साधारणसभा हुँदै छ । अक्टोबर, अर्थात् दशैं आसपास चिनियाँ राष्ट्रपति सि जिनपिङको भारतीय धार्मिक शहर बनारस भ्रमण हुँदै छ । भारतमा हिजोसम्म संसद चल्यो । यही कारण देखाउँदै हाम्रा राजदूतलाई पनि विदेशमन्त्रीबाट भेट दिइएको छैन । कर्ट्सी कलका रुपमा भूटान, माल्दिभ्स र श्रीलंकाका राजदूतहरूलाई समय दिइसकिएको छ भने त्यहाँ उच्चस्तरीय भ्रमणसहित सम्पन्न भएको छ ।

यसबीच, भारतले काठमाडौंस्थित दूतावासमा रहेर काउन्सिलर र सार्क मामिलासमेत हेर्ने अजयकुमारलाई डिसिएमको जिम्मेवारी दिएको छ । यसअघिका सेकेण्डम्यान विनयकुमार राजदूत भएर अफगानिस्तान गएका छन् । भूकम्पताका दूतावासको प्रवक्ता रहेका पियुष श्रीवास्तवलाई दिल्लीस्थित साउथ ब्लकको नर्थडेस्क (नेपाल पनि पर्छ) मा राखिएको छ । यसअघि राजनीतिक मामिला हेर्ने शम्भुलाई मोरक्कोमा राजदूत बनाएर पठाइएको छ । एक दशकअघि प्रेस मामिला हेर्ने सञ्जय वर्मा अहिले दावा फुटी शेर्पा जान लागेको स्पेनमा राजदूत छन् । 

त्यस्तै, बाढीको प्रकोपका कारण सिर्जना भएको रौतहटको समस्यामा दिल्लीस्थित नेपाली दूतावासले भनसुन गरेर तत्कालको बाधा फुकाएको छ । परराष्ट्र स्रोतका अनुसार तत्काल आइपर्ने स्थानीय समस्यामा समन्वयको अधिकार तलैलाई दिन कुरा अघि बढेको छ । गत वर्ष संयुक्त टीमले दिएको रिपोर्टअनुसार नेपालका सिडिओ र भारततर्फका डिस्ट्रिक्ट मेजिस्ट्रेटलाई निर्णय गर्ने अधिकार दिइयोस् भन्ने नेपाल पक्षको माग छ । नेपालले नदीको बहावलाई रोक्नुहुँदैन भन्ने कुरामा जोड दिएको छ ।

टिप्पणीहरू