​पन्ध्र गतेभित्र हेरफेरको पालो

ढिलोमा साउनको १५ नकटाउने गरी मन्त्रिपरिषद् हेरफेर हुँदै छ । आधा–आधा कार्यकालको सहमति कार्यान्वयनको चरणमा पुग्दा ६०–४० अर्थात् तीन र दुई वर्षको प्रस्ताव आउनसक्ने सम्भावना भने जीवितै छ । 

जसरी अहिले नयाँ अर्थमन्त्रीका रुपमा महासचिव विष्णु पौडेलको चर्चा चलिरहेको छ, त्यो सत्य होइन । नेकपास्रोतका अनुसार, केही दिनमै हुने मन्त्रिपरिषद् हेरफेरमा विष्णु नजाने निश्चित छ । उहाँले प्रचण्डको कार्यकालमा उपप्रधानसहित अर्थ मन्त्रालय सम्हाल्ने र अहिले पार्टी काममै लाग्ने सल्लाह छ । नयाँ मन्त्रीका निम्ति वरिष्ठ नेता माधव नेपालको सूचीमा भीम रावल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईको नाम छ । विभिन्न समयमा दिएको तिखो अभिव्यक्तिका कारण भीम र प्रमको सम्बन्ध सुमधुर छैन । तर, माधवको सुझाव छ, ‘निर्वाचित उपाध्यक्षबाट बेदखल गरिएको कारण एडजस्ट गर्दा राम्रो हुन्छ !’

माधवको सूचीमा परेकामध्ये सुरेन्द्र पाण्डेलाई अर्थ नदिइने पक्का छ । योगेशको हकमा सञ्चार वा पर्यटनको सम्भावना छ । सरकारबाट उद्योगमन्त्री मात्रिका यादव, कृषिमन्त्री चन्द्रदेव खनाल ‘बलदेव’, शहरी विकास मन्त्री इस्तियाक राइन, श्रममन्त्री गोकर्ण विष्ट, पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको बहिगर्मन हुने करिब निश्चित छ । परराष्ट्र सम्हालेका प्रदीप ज्ञवाली र सञ्चारबाट गोकुल बाँस्कोटाको मन्त्रालय फेरिन सक्छ । कथं गोकुलले सञ्चार छाड्नुभयो भने साँच्चै डाइनामिक ढंगबाट विकास–निर्माणका काम सम्पादन गर्न सकिने ठाउँ भौतिक मन्त्रालयमा लगी रघुवीर महासेठलाई उद्योगमा सारेर सञ्चारमा प्रदीप वा योगेश जानसक्ने अनुमान छ । 

पूर्वमाओवादी स्थायी कमिटीका सबैजसोले मन्त्री र विभिन्न सरकारी पदमा अवसर पाएका कारण अब नयाँलाई पालो दिइने भएको छ । विभिन्न समूहबाट आएका र घर फर्किएकालाई प्राथमिकता दिने क्रममा देवेन्द्र पौडेल (सुनील) यसचोटि मन्त्री हुने सम्भावना बढेको हो । यदि सुझावअनुसार भीम रावललाई मन्त्री बनाइयो भने पनि उहाँले रोजेको नपाउने र दिइएको नलिने सम्भावना बढी छ । यदि त्यस्तो भयो भने, उहाँका लागि तोकिएको मन्त्रालयमा डोटीका प्रेम आले मगरलाई पठाउने गरी वैकल्पिक सूची पेश भएको बताइन्छ ।

टिप्पणीहरू