​सरकारले नै खोल्ने भयो सुपरमार्केट

सिण्डिकेटवाला निजी व्यवसायी र ठेकेदारलाई चक्मा दिने खबर छ । तिनको ज्यादतीबाट आजित सरकारले बढीमा ३ महिनाभित्रै आफ्नै दुईवटा कम्पनी चलाउँदै छ ।

भाटभटेनीजस्तै सरकारी सुपरमार्केट चलाउने तयारी अन्तिम चरणमा पुगेकै बेला ठेक्का लिएर होल्ड गर्ने तर काम नगर्ने (कालिका, पप्पु, शैलुङजस्ता कन्स्ट्रक्सनका) खराब प्रवृत्तिलाई चिर्न सरकार आफैंले निर्माण कम्पनीसमेत खोलिसकेको छ । अब ठुल्ठूला ठेक्का तिनै कम्पनीमार्फत फत्ते गर्ने योजना छ । सिण्डिकेटधारी व्यापारी र ठेकेदारलाई तह लगाउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिष्ट्रार कार्यालयमा ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ दर्ता गरेको हो । जसको अधिकृत पँुजी ३० अर्ब, जारी पँुजी २० अर्ब र चुक्ता पँुजी १ अर्ब १६ करोड रहेको मन्त्रालयका अधिकारीले जनआस्थालाई सुनाए ।

यस्तै हालै मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कम्पनी रजिष्ट्रारको कार्यालयमा अधिकृत पुँजी १० अर्ब र जारी पुँजी ३ अर्ब रहेको पूर्वाधार निर्माण कम्पनी दर्ता गराएको छ । यसमा ७ सदस्यीय सञ्चालक समिति रहनेछ । भौतिक, अर्थ, ऊर्जा, जलस्रोत तथा सिञ्चाई, शहरी विकास मन्त्रालय संस्थापक र उद्योग, वाणिज्य तथा आपूर्ति, कानून न्याय तथा संसदीय मामिला र खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव प्रतिनिधि रहनेछन् । कम्पनीमा भौतिक, अर्थ, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ, शहरी विकासको (संस्थापक) को  ७५÷७५ लाख कित्ता शेयर रहनेछ । यो कम्पनीले अन्य निजी संस्थाले झैं ठेक्कापट्टामा भाग लिँदा प्रतिस्पर्धा गरिरहनुपर्ने बाध्यता आइलाग्दैन । मन्त्रिपरिषद्को निर्णयबाट सिधै ठेक्कामा सहभागी हुन पाउनेछ । 

नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई गाभेर बनाइएको हो (राष्ट्रिय आपूर्ति कम्पनीको नाम परिवर्तन गरी) ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ । सरकारी सुपरमार्केटले पनि भाटभटेनी सुपरमार्केटले झैं सामान बिक्री गर्ने जनाइएको छ । सो कम्पनीको जिम्मेवारी मन्त्रालयका सहसचिव नवराज ढकाललाई सुम्पिएको छ । जसरी आयल निगमको बोर्ड अध्यक्ष मन्त्रालयका सचिव हुन्छन् उस्तै गरी यो कम्पनीको अध्यक्ष मन्त्रालयकै कुनै अधिकारीलाई दिइनेछ । जहाँ सिइओ भने खुला प्रतिस्पर्धाबाट नियुक्त गरिनेछ । हाल खाद्य संस्थानमा कार्यरत स्थायी २५० र केही करार कर्मचारी राखेर अबको दुई महिनाभित्रै कम्पनी सञ्चालनमा ल्याउने तयारी चल्दै छ । यो कम्पनीले देशभर सुपरमार्केटजस्तै सेवा दिने मन्त्रालयका अधिकारीको भनाइ छ । यस्ता संस्था खोल्नु मात्रै ठूलो कुरा हैन, टिकाउनु जरुरी हुने गर्छ । विगतका अनुभवबाट पाठ सिक्नुपर्छ । 

टिप्पणीहरू