​अकस्मात किन हुँदै छ यस्तो आक्रमण ?

मार्न र मर्न नै तयार हुनुपर्ने गरी नेपालमा त्यस्तो कुनै जातीय र धार्मिक समस्या छैन । तर, एकाएक एउटा घटनाका कारण विश्वको ध्यान फेरि नेपालतर्फ तानिँदै छ ।  

यहीबेला विश्वका विभिन्न भागमा अचम्मलाग्दो घटना हुँदै छ । श्रीलंका बुद्धिष्ट बहुल (सत्तरी प्रतिशत) देश हो । बुद्ध धर्मावलम्बीको घना बस्ती रहेको त्यहाँ मुस्लिम अतिवादी समूहद्वारा इष्टर चाडको बेला २५९ जनाको ज्यान जाने गरी क्रिश्चियनहरूको चर्च र होटलमाथि आत्मघाती बम आक्रमण गरियो । श्रीलंकामा ९.७ प्रतिशत मुस्लिम र ७.४ प्रतिशत क्रिश्चियनको बसोबास छ । ८१ प्रतिशत हिन्दू र ९ प्रतिशत बुद्धिष्ट धर्मावलम्बी भएको देश नेपालमा चाहिँ बिनाकारण बुद्धमूर्ति भत्काइएको छ, त्यो पनि बुद्ध जन्मस्थल आसपास । संयोग कस्तो भने दुवै देश लामो गृहयुद्ध पार गरेर संक्रमणकालबाट गुज्रँदै गरेका अनि दुवै ठाउँमा अल्पसंख्यकको धार्मिक आस्थामाथि अज्ञात कारणवश आक्रमण भएको । 

प्रश्न अझै अनुत्तरित छ, क्रिश्चियन धर्मावलम्बी देश फ्रान्स, डेनमार्कपछि मुस्लिम अतिवादीहरूले किन आक्रमणका लागि श्रीलंका छाने ? कारण हो ः सानो, राजनीतिक रुपमा अस्थिर र टापुको देश । उक्सिँदो पर्यटनले जनताको जीवनस्तरमा सुधार हुँदै गरेको ठाउँ । अनि नेपालमा पनि भ्रमण वर्ष २०२० को तयारी चल्दै गरेको । यसरी लामो समयदेखिको तमिल विद्रोहलाई दबाएर आएको श्रीलंकामा अल्पसंख्यक क्रिश्चियन केन्द्रित आक्रमण त बहाना मात्र थियो, त्यहाँको पर्यटन क्षेत्रलाई अस्तव्यस्त बनाउनका निम्ति । यता हिन्दू बाहुल्य भएको देशको बुद्धमूर्तिमाथि किन आक्रमण गरियो ? दक्षिण एशियामा क्षेत्रीय आतंकको संकेत हो या कुनै संगठित तŒव छ यसको पछाडि ? उत्तेजनाको आगोमा घ्यु थप्नलाई न नेपालमा आन्तरिक द्वन्द्व छ न त जातीय र क्षेत्रीय झडप नै ।

छिमेकी चीन बुद्धधर्मको प्रभाव रहेको देश । अहिले त्यहाँ पनि क्रिश्चियानिटीको खतरा महसूस गरिँदै छ । सिन्जियाङलगायत मुस्लिम बाहुल्य प्रान्त छन् । खुनमिङमा मुस्लिम अतिवादीहरूले जथाभावी छुरा धस्दै हिँडेका घटना बाहिर आएकै हुन् । प्रश्न उठ्छ, श्रीलंकाका क्रिश्चियन चर्च र नेपालमा बुद्ध मूर्तिमाथि आक्रमण गर्नेले कट्टर धर्मावलम्बी खाडी राष्ट्रहरू वा पाकिस्तानमाथि किन गरेनन् ? कतै छोरी कुटेर बुहारी तर्साउने नियत त होइन यो ? 

बुटवलदेखि भैरहवाबीच ६ लेनको हाइवे छ । र, नजिकै अन्तिम चरणको अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्दै छ तर त्यसले हवाई रुट पाइसकेको छैन । त्यही हाइवेको ५ ठाउँमा मज्जैले मूर्ति भत्काइएको छ । तीन–चार किलोमीटरको दूरीमा ठूलो मानव वस्ती छ । त्यस्तो ठाउँमा छिया–छिया हुने गरी घनले हानेर, घण्टौं लगाएर बुद्धमूर्ति भत्काइएको छ । कुनै जँड्याहा, मगज खुस्केट वा बहुलठ्ठीबाट एक्लै यस्तो काम हुने सम्भावनै छैन । मान्नैपर्छ, यसमा संगठित शक्ति लागेको छ । अहिले लुम्बिनी आउने श्रीलंकन पर्यटकको संख्या पचपन्न प्रतिशतले बढेको छ भने चिनियाँ, दक्षिण कोरियाली र जापानीको आगमनमा १२५.४, २१.९ र ३६ प्रतिशतले बढोत्तरी भएको बेला छ ।

बुद्धमूर्तिमाथि आक्रमण भएको ठाउँ नजिकै मुस्लिम बस्ती छ । यही ठाउँमा धार्मिक–साम्प्रदायिकताको नाममा नभएको समस्या देखाएर केही न केही पक्कै गर्न खोजिँदै छ । हो, केही उग्रता कपिलवस्तुमा छ । जहाँ पार्टीभन्दा जातिलाई माथि राखेर हेरिन्छ । बुद्ध धर्मावलम्बी शान्त स्वभावका हुन्छन् । तिनको सेन्टिमेन्ट भाँड्न पो खोजिँदै छ कि ? अचम्म के छ भने, बुद्ध गर्मी प्रदेशमा जन्मिए । उनका अनुयायीचाहिँ हिमाली, पहाडी प्रदेशमा बढी । जापान, चीन, कोरियाजस्ता देशवासीले बुद्धधर्म मान्छन् । नेपालमा पनि मधेसी हैन, पहाडी क्षेत्रका आदिवासी, जनजातिमा बढी बुद्धधर्म मान्ने छन् । 

केही महिनाअघि पूर्वपश्चिम राजमार्गको नवलपरासी र बुटवल खण्डमा कालो मसीले युपी लेखिएका अक्षर भेटिए । युपी, अर्थात् उत्तर प्रदेश जनाउने ती लेखाई मेटिएलगत्तै अहिले बुद्धको मूर्ति ध्वस्त पारिएको घटना सानो होइन । यस्तो काम कोही गँजडीले त्यसै गर्दैनन् । जसरी अफगानिस्तानको बामियान बुद्ध मूर्ति ध्वस्त पारिएयता त्यो देश निरन्तर संकटमा पर्दैै आएको छ, यता कतै कसैले त्यस्तै नियतका साथ यस्तो काम त गर्दै छैन ? कुनै ठूलो घटना गराउन कच्चा टार्गेटतिर ध्यान डाइभर्ट त गरिँदै छैन ? सरकार मात्र हैन, जनता तहबाट समेत सचेतना अपनाइनु जरुरी भइसकेको छ ।

 

टिप्पणीहरू