तल जाने सबैलाई मगजको तनाव ?
मन्त्री लालबाबु पण्डितका लागि कर्मचारी नेताहरु ‘काउसो’साबित भएका छन् । कर्मचारी समायोजन क्रममा ८० प्रतिशत बढी नेता संघमै अड्किए । स्थानीय तहमा गएकाहरु पनि केन्द्रै फर्कन कुदिरहेका छन् । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल, कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) का अध्यक्ष गोपाल पोखरेल, उपाध्यक्ष उत्तम कटुवाल, उपमहासचिव यज्ञराज अर्याल, सचिव नवराज पाण्डे, तत्कालीन माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावललगायतका नेताहरु यतै रहँदा टे«ड युनियनका उपाध्यक्ष भोला पोखरेल, निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा र उपमहासचिव टेकनाथ न्यौपानेहरु स्थानीय तहमा परे । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा तोकिएका भोलाले केन्द्र फर्कने व्यवस्था मिलाए । कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाको समायोजन सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा भएको थियो । गत १६ जेठमा बा २ ब ३९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएको कागजपत्र बोकेर संघमै फर्कन खोज्दैछन् ।
कीर्ते कर्ममा कर्मचारी ?
टाठा कर्मचारीले भने कानुनी छिद्र प्रयोग गरी काठमाडौं बस्ने चाँजोपाँजो मिलाइरहेका छन् । कर्मचारी समायोजन ऐनको दफा ८, उपदफा ४ मा लेखिएको छ‘जहाँ जे लेखिएको भए पनि नेपाल मेडिकल बोर्डले कडा रोग भनेर सिफारिश गरेको खण्डमा सम्बन्धित मन्त्रालयले रोजेको ठाउँमा दरवन्दी राखी कामकाज गराउन सक्नेछ ।’ प्राप्त डकुमेन्टअनुसार धेरैले आफू गम्भीर मानसिक रोगी भएको सिफारिस मेडिकल बोर्डबाट ल्याएका छन् । स्वास्थ्यका कर्मचारीहरुमा यस्तो विकृति धेरै देखिएको छ । (अनमी) अधिकृतस्तर छैंठौ तहका कमलाकुमारी शर्मा न्यौपाने, कमला पौडेल, विष्णुमाया चापागार्इं, तुलसा पुरी, दीपाकुमारी पुन, शान्ता भण्डारी, शम्भु काफ्ले (अधिकृतस्तर नवौं), विष्णुप्रसाद नयसवाल, लक्ष्मी चापागाईं, ज्ञानु तिमिल्सिना, राजेश बिम्ली, युवराज सुवेदी, जीवन श्रेष्ठ, डिल्ली खनाल, डिल्ली आचार्य, सविता जोशी, शंकर झा, हिमालय तिवारी, युवराज तिमिल्सिना, बिष्णु फुयाँल, शोभा गौतम, महेश बरालहरु केन्द्रमै फर्कन सफल भएका छन् ।
लेखामा पनि उस्तै भद्रगोल छ । मानसिक रोगी भएको सिफारिस ल्याएर लेखा अधिकृत कृष्णबहादुर खत्री संघमै समायोजन हुन सफल भएका छन् । डुडुवा गाउँपालिका कार्यालय, बाँकेमा समायोजन भएका उनी जनार्दन शर्मा उर्जामन्त्री हुँदा उनको निजी सचिव थिए । यस्तै नरेश श्रेष्ठ, हेमा कार्की, सीता न्यौपाने गैरे, कमल खड्का, विन्दु पण्डित, नवराज पण्डितहरुले झेलीे मेडिकल रिपोर्ट बनाएर संघमै फर्किएको चर्चा लेखाका कर्मचारीहरु गर्दछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार, झण्डै २ सय बढी कर्मचारीले आफू मानसिक रोगी भएको कागज बनाएका छन् । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा समायोजन गरिएकी मनकामना सिंहले मन्त्रालय फर्कने तारतम्य मिलाइन् । उस्तै गरी कर्णाली प्रदेशमा खटिएका लेखा उपसचिव रुमाकान्त पौडेल, लेखा अधिकृत सुष्मा गौतम, तामाकोशी गाउँपालिकामा खटाइएकी तारा केसी तथा सप्तरी कंकालिनी हनुमान नगरपालिकामा समायोजन गरिएकी उपसचिव कमला ज्ञवाली पनि पुल दरबन्दीमा संघमै फर्किएका छन् ।
वीरमा बदमासी
स्वास्थ्य सेवाका कर्मचारीहरुले डाक्टरहरुलाई केही हजार टक््रयाएपछि डिप्रेशनको प्रेस्क्रिप्सन लेखिदिने र त्यही आधारमा मेडिकल बोर्डको सिफारिस लिएर संघ फर्कने कर्मचारीहरुको लर्काे छ । वीर अस्पतालस्थित बिचौलियाहरुले २ दिनभित्र डाक्टरको सिफारिसदेखि बोर्डको निर्णयसम्म बनाइदिने गरेका छन् । मेडिकल बोर्डमा अहिले वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी, सदस्यद्वयमा डा. विधाननिधि पौडेल र डा. किरण श्रेष्ठ छन् । उनीहरुबाट सिफारिस गरिएका अधिकांश कर्मचारीको अन्यन्त्रै पुनः परीक्षण गर्ने हो भने त्यस्तो रोग भेटिँदैन । यो धन्दामा कर्मचारी शोभा गौतमको सक्रियता रहेको वीर अस्पताल स्रोतले जनायो ।
टिप्पणीहरू