स्याटेलाइट वार्ता शुरु
बहुप्रचारित र बहुप्रतिक्षित नेपालको आकाशमा आफ्नै स्याटेलाइट राख्ने गौरवपूर्ण योजना अझै कार्यान्वयनको तहमा पुगिसकेको छैन ।
नेपालले अन्तरीक्षमा प्राप्त गर्ने स्लट नजिकै लाओसले आफ्नो ठाउँ दाबी गरेपछि वार्ता गर्न सञ्चार सचिवसहित प्राविधिकको टोली त्यता गएको छ । लाओसले चार वर्षअघि यसबारे नेपाललाई पत्राचार गरेको थियो । तर, बेलैमा वास्ता नगरिँदा र अहिले प्रधानमन्त्रीले छिनछिनमै त्यही कुरा सम्झिँदा कर्मचारीहरुले दुःख पाएका हुन् । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आइटियु) ले नेपाललाई दिएको अर्बिट स्लट १२३.३ डिग्री देशान्तरमा छ । यसलाई नेशनल स्लट भनिन्छ । लाओसले चाहिँ १२५ डिग्री देशान्तरमा आफ्नो ठाउँ दाबी गरेको छ ।
यदि लाओसकै छेउमा नेपालको स्लट रह्यो भने त्यसले पावर, इन्स्योरेन्स र फाइलिङमा गम्भीर असर पारेर हाम्रो ग्राउण्ड स्टेशनले कम काम गर्ने खतरा रहन्छ । यो स्थिति अन्त्यका लागि आज अगष्ट ७ र भोलि ८ तारिखका दिन भिएन्टिनमा बैठक हुँदैछ । यो टोलीले लाओसको टोलीलाई नेपाल आउन निम्तो दिने कार्यक्रम छ । डिसेम्बरसम्म सम्झौता भयो भने २०२२ सम्म नेपालले आफ्नो स्याटेलाइट प्रयोगमा ल्याउन सक्छ । स्याटेलाइट ल्याउनका लागि दुई सय ११ मिलियन युरो खर्च लाग्ने अनुमान छ । त्यो भनेको २० करोड युरो र नेपाली मुद्रामा रुपान्तरण गर्दा २४ अर्ब पुग्छ । यसका लागि नेपालले अझै कसिकसाउ र कडिकडाउका साथ फ्रान्ससँग सहुलियतमा ऋण सम्झौता गर्दैछ । जेठमा प्रधानमन्त्री पेरिस जाँदा कानुनी औपचारिकता पूरा नभएका कारण सम्झौता हुन सकेको थिएन ।
टिप्पणीहरू