सहकारीको भकारी, भाग्ने कति डकारी

समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने भन्दै बामपन्थी सरकारले जोडका तोड कार्यक्रम सञ्चालन गरिरहेको छ । तर समाजवादी अर्थतन्त्र निर्माणको एउटा महत्वपूर्ण पक्षको रुपमा हेरिएको सहकारी क्षेत्रमा भने भुइचालो जाने निश्चित छ । सहकारी ऐन २०७४ र नियमावली २०७५ आउँदा अगुवाहरु ठीकठिकै छ भन्न बाध्य भएका थिए । कारण थियो ऐन मस्यौदाताकाका सहकारी मन्त्री चित्रबहादुर केसीले सहकारी क्षेत्रका कुरा सुन्दै तत्कालीन रजिष्ट्रार केशवप्रसाद रेग्मीले ल्याएको विषय बढी पर्ने गरी पास गराएउनु । 

शुक्रबार सहकारी विभागले सन्दर्भ व्याजदर निर्धारण गरेको छ आइतबारदेखि लागू हुने गरी । यो सहकारी नियमावली २०७५ मा उल्लेख भएको र मन्त्रालयले करिब ६ महिना अगाडि समिति बनाएर काम अगाडि बढाएको विषय थियो । यतिञ्जेल कसैले विरोध गरेका थिएनन् तर जब विभागले ६ प्रतिशत स्प्रेडदर, कर्जामा अधिकतम १६ र बचतमा न्युनत्तम १० को सीमा निर्धारण ग¥यो सर्वसाधारणको पैसामा मस्ती गर्नेहरुलाई जरो आउन थाल्यो । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले शुक्रबार साँझ कुपण्डोलको एक होटलमा काठमाडौं र ललितपुरका केही सहकारीकर्मीको गोप्य भेला गरेर सन्दर्भ व्याजले साना सहकारीलाई अन्याय ग¥यो भन्दै आन्दोलन परिस्थिति निर्माण गरेका छन् । 

ठूला कारोबार गर्ने सहकारीहरुले सर्वसाधारणको रकमलाई धेरै मुनाफा दिने लोभ देखाएर बचत संकलन गरी आफ्नो व्यवसायमा लगानी गर्ने र उक्त लगानी घाटामा गए बचत डुबाएर भाग्ने गरेको तथ्य जगजाहेर भएरै सन्दर्भ व्याजदर तोक्नुपरेको सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डे बताउँछन् । सम्पत्ती शुद्धिकरण निर्देशिकाको कार्यान्वयनले पनि सहकारीलाई च्यापिरहेको छ । विभिन्न श्रोतबाट आएको कालोधन थुप्रने अखडा सहकारी बनेकाले सहकारीलाई राष्ट्रबैंकले नै सम्पत्ति शुद्धिकरणको पाटोबाट शंकाले हेरिरहेको छ । काठमाडौं उपत्यकामा बढी कारोवार गर्ने २० सहकारी संस्थाको उच्च नेतृत्वलाई अहिले सम्पत्ति शुद्धिकरण, अख्तियार, बैंकिंग कसुर, सहकारी नियमावली तथा निर्देशिक उल्लंघन लगायतका कोणबाट सुक्ष्म निगरानी राखिएको र विदेश भ्रमणलगायतमा समेत कडाई हुने सम्भावना रहेको बुझिएको छ । ठूला मानिएका ५ देखि १० प्रतिशत सहकारीहरुका कारण सिंगो सहकारी क्षेत्र विभाजित भएको छ । 

सन्दर्भ व्याजदरको समितिमा सहकारी अभियानका तर्फबाट राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मीनराज कँडेल, नेफ्स्कुनका अध्यक्ष डीबी बस्नेत, बहुउद्धेश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारी, सहकारी बैंकका सिइओ बद्री गुरागार्इं रहेका थिए । ललितपुरमा आफूले भनेको मान्ने व्यक्ति अध्यक्ष रहेकोले ढुक्क हुनु भन्दै काठमाडौंका अध्यक्ष टेकप्रसाद चौंलागाईले आफूलाई साथ दिए सन्दर्भ व्याजदर उल्ट्याइने चेतावनी भण्डारीले सहकारी विभागलाई दिएका छन् ।

टिप्पणीहरू