​झेलीमा जर्नेल झिकाइए

जर्नेलहरुको शैक्षिक योग्यताको प्रमाणपत्रसम्बन्धी विवादास्पद मामिला झन् बल्झिँदा अबको दुई/तीन ब्याचपछिलाई प्रधानसेनापतिको रोलक्रममा गड्बडी उत्पन्न भएको छ । अर्कातिर, पहिला दरबारले भावी प्रधानसेनापतिमा पहिल्यै आफ्नो मान्छे तोकेजस्तो स्थिति क्रमशः अन्त्य हुँदै गएको छ । 

यस्तो झन्झटमा परेका जर्नेल हुन्, ताराध्वज पाण्डे र अशोक सिग्देल । उनीहरुको स्कुलको पुरानो रजिस्टरसमेत फोटोकपी गरेर रक्षा मन्त्रालयमा उजुर हालिएको छ । फुली थप्ने मुखमा यस्तो भाउँतो आइलागेपछि रक्षाले उनीहरुको बढुवा प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छैन । ताराध्वज माघमै दुईतारे जर्नेल भएका हुन् । उनलाई छानबिनको सिलसिलामा हेटौंडा, सुपारेटारस्थित मध्यपृतनाबाट शुक्रबार काठमाडौं झिकाइएको छ । ताराध्वज र अशोक २०२१ सालमा जन्मिएका हुन् । तर, दुबैले सैनिक अभिलेखमा २०२३ सालको कागजात पेश गरेका छन् । शैक्षिक प्रमाणपत्र र नागरिकतामा जन्म मिति एउटै छैन । यसरी एक हप्ताअघि नै सेनाको आन्तरिक बोर्डले निर्णय गरेर बढुवा सिफारिस पठाउने भनिएकोमा रक्षाले रोक्दा सातदिने सूचना निस्किन पाएन । यसले गर्दा ब्रिगेडियर हुने अरुको पनि बाटो छेकिएको छ । त्यसरी छेकिनेमा बेलायतस्थित सैनिक सहचारी कुमारबाबु थापा, ढाकाका विनोद खरेल, अमेरिकाबाट भर्खर कोर्ष सकेर फर्किएका अनुपजंग थापा र प्रकाश देउजासहित पाँच जना छन् । 

अहिलेका अपरेशन चिफ प्रभुराम शर्माको म्याद थपिएन भने उनको पनि चिफ हुने लाइन समाप्त हुँदै छ । अशोक रोकिँदा बढुवा हुने पालो निर्मल थापाको आउँछ । कथंकदाचित निर्मलमा पनि कैफियत भेटिएमा नसोचिएका २६ बेसिकका विनयविक्रम राणाले पालो फुत्काउन बेर छैन । प्रभुरामको आउँदो महिना म्याद थपिए उनी चिफ हुनेछन् । यदि, ताराध्वज भदौपछि बढुवा भएको भए उनको लाइन क्लियर हुन्थ्यो । पूर्णचन्द्रको भदौपछि दुई वर्ष र प्रभुरामले म्याद थपेर ३ वर्ष खाए भने पाँच वर्ष हुन्छ । ताराध्वज अहिलेको काण्डबाट मुक्त भएछन् भने पनि पाँचवर्षे पदावधि लागेर घर जान्छन् । मधुकर कार्कीको पालोचाहिँ अशोकहरुको व्याचपछि मात्रै आउँछ ।

अर्कातिर, प्रधानसेनापतिको एक वर्षे कार्यकालको समीक्षा प्रश्नोत्तरको शैलीमा शुरु भएको छ । सबै युनिटहरुसँग सुझाव संकलन गर्ने र कुनै कमजोरी भए सच्याएर अघि बढ्ने योजना रहेको छ ।
 

टिप्पणीहरू