​पीएहरुले कसरी पिए, कसरी जिए

कार्यकर्ता कम्युनिष्टको तर धन्दा कमाउनिष्टको । सिंहदरबारमा आतंक यतिसम्म कि त्यही कारण मन्त्री बदनाम हुने र स्वकीय मोटाउँदै जाने धन्दा चल्दै छ । सचिव, उपसचिवसम्म मन्त्रीका स्वकीयहरूबाट आजित भएको मन्त्रालयका एक सचिवले सुनाए । सुशासनको कुरा गरिरहेको छ सरकार तर मन्त्री क्वार्टरभित्र सीमित हुनुपर्ने स्वकीयहरूको राइँँदाइँ सिंहदरबारमा समेत देख्न पाइन्छ । 

यस्तै धन्दामा संलग्न रहेको पाइएपछि हालै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले स्वकीय सन्तोष विष्टलाई ‘किक आउट’ गरेका छन् । अनुगमनका नाममा व्यवसायीलाई आतंकित पारेको, कर्मचारी थमौती गराइदिन्छु भन्दै लाखौं रकम बार्गेनिङ गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो । 

केही दिनअघि उपभोक्ता तथा आपूर्ति बिट हेर्ने पत्रकारलाई मन्त्रालय मातहतकै एक हाकिमले सुनाएको चर्चाअनुसार विष्टले आयल निगमको थानकोट डिपो प्रमुख दिनेश रेग्मीसँग दुई लाख नजराना मागे । यस्ता गुनासा पटक पटक कानमा परे पनि मन्त्रीले नसुनेपछि मन्त्रिपरिषद् बैठकमै कुरा उठेको थियो । 

यद्यपि, विष्टले भने पारिवारिक समस्याका कारण स्वकीय सचिवको पद र जिम्मेवारीबाट हटाइदिन अनुनय–विनय गरेअनुसारै मन्त्रीले बिदा दिएको प्रतिक्रिया दिएका छन् ।

यस्तै धन्दा चलाउँदा अखिलका पूर्व सदस्य वसिम आलमसमेत संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको गलहत्याइमा परेका छन् । उनलाई भूगोलमा खटाइएको छ । उनको ठाउँमा मनोज राईको इन्ट्री भएको छ । स्वकीय तथा सल्लाहकारको आतंक देख्न पाइन्छ शिक्षा मन्त्रालयमा पनि । त्यहाँ मन्त्रीका १७ सल्लाहकार छन् । कुनै न कुनै सरकारी निकायबाट तलब बुझ्छन् । त्यहाँ जीवन गौतम, प्रकाश खतिवडा, सुदर्शन पराजुली, पुष्पराज ढकाल, विनोद पोखरेलदेखि रोहित दाहालसहितका कार्यकर्ताले जागिर खाइरहेका छन् । 

यस्तै आर्थिक लेनदेन र विवादमा मुछिँदा यसअघि प्रधानमन्त्री केपी ओलीले रमेश आचार्यलाई हटाएका थिए भने झलनाथ खनालको समयमा रामबाबु अधिकारी फालिएका थिए । मासिक ३०÷३५ हजार तलब खानेगरी स्वकीय नियुक्त भएकाहरू पदबाट बाहिरिएसँगै काठमाडौंमा केहीले घर त केहीले जग्गा जोडेका छन् ।

टिप्पणीहरू