राजाको खोपी र गणतन्त्रको गजुर
गणतन्त्र स्मारक र राजा–महाराजाका सुत्ने–खाने ठाउँ, विषय फरक हो । तर, गर्न खोजिँदैछ एउटै । यसरी सरकारको चाहना एउटा, तर पर्यटन मन्त्रालयको योजना र पुरातत्व विभाग अनि दरबार हेरचाह अड्डाको सोचबीच अन्तर हुँदा नारायणहिटीमा भद्रगोल मच्चिँदैछ ।
जेठ १५ गते हतार–हतारमा गणतन्त्र स्मारक उद्घाटन भयो । तर, पाँच महिना बित्दा पनि त्यो सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुलेको छैन । त्यहाँ टिकट काटेर हेर्न कोही नगएपछि एक रुपैयाँ पनि आम्दानी भएको छैन । तर, त्यसनिम्ति सरकारी कोषबाट ५२ करोड खर्च भइसकेको छ । ढुंगामा संविधान खोपेर राष्ट्रपतिबाट हतार हतारमा अनावरण गराइएको ठाउँ नारायणहिटीको पूर्वीगेट छेउमा छ । त्यहाँका बाँकी निर्माणकार्य अलपत्र छन् । अहिले त्यही दरबार र स्मारकका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनेकन योजना बनाइरहेको छ । स्मारक र दरबार अवलोकनलाई एउटै प्याकेजमा हाल्न खोजिएको छ । तर, दरबार संग्रहालयले यस्तो गर्दा झन् भद्रगोल हुने भन्दै मन्त्रालयको योजना कार्यान्वयन गर्न मानेको छैन । स्मारक भनेको १५–२० मीनेटमा घुमेर सकिने ठाउँ हो । त्यहाँबाट पुरानो राजदरबारको दूरी र बाटो व्यवस्थापन जटिल छ । किनभने, टुकुचा खोला पार गर्नुपर्छ । स्मारकबाट दरबारतिर जानका लागि भित्रैबाट बाटो बनाउने हो भने पनि त्यसको सौन्दर्य नष्ट हुने खतरा एकातिर छ, अर्कातिर अवलोकनार्थ जाने सर्वसाधारणले घण्टौँको समय खर्च गर्नुपर्ने भन्दै यस्तो योजना व्यवहारिक नहुने बताइँदै छ । तर, मन्त्रालय भन्छ, ‘हामीले भनिसक्यौँ । अब त्यही हुन्छ ।’
पुरातत्व विभागको स्वामित्व र रेखदेखमा रहेको नारायणहिटी राजदरबार र अलग्गै संयन्त्रबाट व्यवस्थापन गर्ने भनिएको गणतन्त्र स्मारकलाई एउटै व्यवस्थापन समितिबाट सञ्चालन गर्ने र एउटै प्याकेजमा राखेर अवलोकन खुला गर्ने मन्त्रालयको प्रस्ताव हो ।
०५८ जेठ १९ मा वंशविनाश गरिएका राजा वीरेन्द्र सुत्ने गरेको श्रीसदन पनि अवलोकनका लागि खुला गर्ने योजना छ । त्यसका लागि पर्यटन मन्त्रालयले नारायणहिटी विकास समिति बनाएर पुरातत्वबाट जागिर सकिएका बूढाहरूलाई जागिर खुवाउने ठाउँ बनाउन खोजिरहेको छ । संग्रहालय व्यवस्थापन शाखाका उपसचिव अद्वैत श्रेष्ठ यसमा सहमत छैनन् । अहिले श्रीसदनको रेखदेख र सरसफाईका निम्ति दुईजना महिला खटाइएका छन् । अवलोकनका लागि खुला गर्ने योजना बनाएपछि त्यहाँको बार्दलीका काठ आकर्षक बनाउने कामहरू भइरहेको छ । त्यो भनेको वीरेन्द्र, ऐश्वर्य, निराजनहरू सुत्ने ठाउँ हो । कोठाहरू साना–साना छन् । झट्ट मान्छेले हेर्दा राजाका छोराछोरी यति सानो ठाउँमा सुत्थे भनेर नपत्याउने खालको संरचना छ । तत्कालिन युवराज दीपेन्द्रको शयन कक्ष भने दरबार हत्याकाण्डपछि पूरै भत्काएर अहिले फेरि पुरानै स्वरुपमा ठड्याइएको त्रिभुवन सदनमै छ । पहिला उनी पनि श्रीसदनमा बाबु, आमासँगै सुत्थे । राजपरम्पराअनुसार उपनयन (ब्रतबन्ध) पछि युवराजधिराजले पाउने ‘पृथुलाधीश’ को उपाधीपछि राजासँग सुत्न मिल्दैन । त्यसैले युवावस्था लागेदेखि नै दीपेन्द्र त्रिभुवन सदनमा सुत्न थालेका थिए । राजा वीरेन्द्र, रानी ऐश्वर्यहरू चाहिँ विदेशी आउँदा मात्र त्रिभुवन सदनसँगैका खोपीमा सुत्थे । एउटा राजा बसेको ठाउँमा अर्को राजा बस्ने चलन छैन । त्रिभुवन सुत्ने ठाउँमा महेन्द्र सुतेनन्, महेन्द्र सुतेको ठाउँमा वीरेन्द्र पनि सुतेनन् । तर, दरबार हत्याकाण्डपछि श्रीपेच पहिरिएका ज्ञानेन्द्र भने अहिले संग्रहालय बनाएको ठाउँको साँघुरो कोठामा सुत्थे ।
अहिले नारायणहिटीमा अवलोकनका लागि खोलिएका ठाउँहरू विदेशी आउँदा भेट्ने, भोज खुवाइने ठाउँ हुन् । तर, दिवंगत राजपरिवारका निजी चिज देखाइएको छैन । दरबारबाट बहिर्गमन हुँदा पूर्वराजा ज्ञानेन्द्रले ती सामान कता लगेका छन् पत्तो कसैलाई छैन ।
नारायणहिटीभित्रकै लमजुङ कक्षको लापरवाहीको अर्को प्रसंग छ । त्यो भनेको तत्कालिन दरबारमा सबै भेला भएर खानपिन गर्ने ठाउँ हो । राजाको पालामा सभा, समारोह, सुशोभन जस्ता कार्यक्रम त्यहाँ हुन्थे । अब त्यहाँ रु. ११ हजारका दरले सय जनासम्मलाई डिनर खान पाइने गरी कुनै होटललाई जिम्मा दिने कुरा आएको छ । त्यहीँ सेनाको संवेदनशील विशेष सुरक्षा बल छ । अनेकखालका पल्टन पनि छन् । त्यसमाथि हाम्रो देशको कमजोर सुरक्षा प्रणाली छ । श्रीपेच सुरक्षित नहोला भनेर कैयन वर्षपछि बुलेटप्रुफ शिशाभित्र लगेर राखिएको छ ।
उता, स्मारकतिर हल बनाउने, फोटो प्रदर्शनी, म्युजियम बनाउने कुरा अलपत्र छन् । हतारमा काम गर्ने, कामलाई टुंगोमा नपु¥याउने हाम्रो चलनै हो । विदेशी आएर एटिएम ह्याकिङ गरी करोडौँ पैसा लान सकिने देशमा सबै कुरा विचार नगरी लहडको भरमा गरिँदा त्यसले निम्त्याउने जटिलताको अहिलेसम्म अनुमान गरिएको छैन ।
टिप्पणीहरू