सुरक्षाकर्मी बङ्कुलबाट तस्करी हुँदा मौन

सुरक्षाकर्मी बङ्कुलबाट  तस्करी हुँदा मौन

रौतहटको बङ्कुल नाकामा तस्करी मौलाएको छ । सुरक्षाकर्मीकै संलग्नतामा तस्करी भइरहेको स्थानीयको आरोप छ । नाकामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीले रकम असुलेर भन्सार छलीको सामान भित्र्याउन सहयोग गर्ने गरेको स्थानीय बताउँछन् । बङ्कुल बजारमा नियमित गस्ती गर्नुपर्ने सुरक्षाकर्मी पोके तस्करहरुको पछाडि लाग्न थालेका छन् । 

भारतबाट साइकल तथा मोटरसाइकलमा ल्याइने सामानबापत सुरक्षाकर्मीले ५० रुपैयाँदेखि एक सय रुपैयाँसम्म लिने गरेको स्थानीयको भनाइ छ । तत्कालीन माओवादी द्धन्द्धका बेला बङ्कुल बजारमा रहेको छोटी भन्सार कार्यालय हटाएपछि भन्सार नतिरिकन सामान ओसारपसार गर्न थालिएको हो । हाल नाकामा सुरक्षाकर्मी तैनाथ छन् । सुरक्षाकर्मीले चिया खर्च भन्दै पैसा उठाउने गरेका छन् । 

स्थानीयका अनुसार नाकाबाट लत्ताकपडा, श्रृङ्गारका सामान, रड, सिमेण्ट, मोटर पार्ट्स, खाद्य वस्तु र तरकारी भित्रिने गरेको छ । भारतको घोडासानबाट हरियो तरकारी ल्याएर रौतहटको बजारमा बिक्री गर्ने गरिएको छ । व्यापारी इमतयाज आलमका अनुसार हरेक पटक तरकारी ल्याउँदा एक सय रुपैयाँ सुरक्षाकर्मीलाई बुझाउनुपर्छ ।

उनीजस्ता सयौं व्यापारीले दिनहुँ मोटरसाइकलमा सामान ल्याउने गरेका छन् । बङ्कुल नाकाबाट भन्सार छली गरेर ल्याइने सामानहरु रौतहटको बङ्कुल  बजार, कटहरिया बजार, विजयपुर बजार, बाराको कोहल्बी बजारलगायत विभिन्न स्थानमा पुर्याइने उनले जानकारी दिए । 

नाकामा बस्नका लागि जिल्ला प्रहरी कार्यालय, रौतहट र गौरमा रहेको सशस्त्र प्रहरीको ११ नम्बर हेडक्वार्टरका जवानदेखि सईसम्म लालायित छन् । ‘नाकामा खटिन जवानदेखि सईसम्मको  हानाथाप चल्छ । उच्च पदस्थलाई मोटो रकम बुझाएर उनीहरु त्यहाँ जान्छन् । त्यसपछि त्यहाँ बसेर रकम असुली गर्दै स्थानीयलाई दुःख दिन्छन्’,स्रोतले भन्यो । 

सशस्त्र प्रहरीको बेसक्याम्प तत्कालीन छोटी भन्सार कार्यालय रहेको भवनमा राखिएको छ । बन्द अवस्थामा रहेको भन्सार कार्यालयलाई क्याम्प बनाएर जवानदेखि हाकिमसम्मले कमाउधन्दा चलाइरहेका छन् । सीमापारिबाट आउने साइकल तथा मोटरसाइकललाई रोकेर चेकजाँचका नाममा असुली गर्ने गरिएको छ । 

सुरक्षाकर्मी असुलीमा व्यस्त हुँदा गाउँघरमा चोरीडकैतीका घटना बढेका छन् । प्रहरी गस्तीका लागि गाउँघर जानै छोडेको स्थानीयको गुनासो छ । जिल्ला सुरक्षा समितिले छोटी भन्सारबाट भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेशमा रोक लगाएको छ । तैपनि तस्करीका सामान बोकेका भारतीय मोटरसाइकलहरु निर्वाध रुपमा भित्रिरहेका छन् । सुरक्षाकर्मीले दुःख दिएको र गस्ती रोकिँदा आपराधिक क्रियाकलाप बढेको भन्दै स्थानीयले प्रशासनमा जानकारी गराएका छन् 

टिप्पणीहरू