डेढ वर्षअगाडि स्ट्याट्स लेख्दा अहिले पक्राउ ?
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठक (जानुका) लाई हदम्याद कटिसकेको विषयमा जाहेरी लिएर पक्राउ गरिएको खुलेको छ । हिजो साधारण तारेखमा छुटेकी उनलाई डेढ वर्षअघि सामाजिक सञ्जालमा लेखेको विषयमा पक्राउ गरिएको हो ।
पाठकले सन् २०२३ मे २९ मा आफ्नो फेसबुकमा महेश बस्नेतनिकट धादिङ्ग मलेखुका राजकुमार त्रिपाठीविरुद्ध एउटा स्ट्याट्स लेखेकी थिइन् । ‘अहिले तलाईं परिचालन मात्र गरेको जाबो भरौटे दलाली,अर्काको घर भँडुवा’ भन्दै पाठकले लेखेको स्ट्याट्सको विषयलाई लिएर त्रिपाठी डेढ वर्षपछि प्रहरी वृत्त, स्वयम्भू पुगेका हुन् । मंसिर १२ गते पक्राउ पूर्जी जारी भएकोमा उनलाई पुस १ गते पक्राउ गरियो ।
काठमाडौं जिल्ला अदालतको परिसरबाट पक्राउ परेकी उनलाई स्वयम्भू प्रहरीको हिरासतमा राखिएको थियो । स्वयम्भू प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा मुद्दा चलाएको हो ।
न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले हिजो उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । त्रिपाठीले पूर्वमन्त्री बस्नेतको निर्देशनमा आफूविरुद्ध षड्यन्त्र गरेको पाठकको आरोप छ ।
‘उहाँले मलाई छोरी भन्नुहुन्थ्यो । मेरो घरमा आएर धेरैपटक खाना खानुभयो । परिवारको सबै सदस्यले उहाँलाई चिन्नुहुन्थ्यो । पछि उहाँ र बस्नेत नजिक हुन पुगे । बस्नेतले भनेर मविरुद्ध षड्यन्त्र रचिएको हो’,उनले भनिन्,‘मैले उहाँविरुद्ध स्ट्याट्स लेखेकी हुँ । उहाँले हटाउनु भनेपछि हटाएँ । एक वर्षपछि प्रहरीलाई दबाब दिएर मविरुद्ध पक्राउ पूर्जी जारी गर्न लगाइयो । मेरो ज्यानलाई खतरा भएपछि मैले नै गिरफ्तारी दिएकी हुँ । हिरासतमा मलाई निकै यातना दिइयो । मेरा वकिलहरुले मानव अधिकार आयोगमा उजुरी नै दिनुभएको थियो । अनि मात्र सहजीकरण गरियो ।’
साइबरसम्बन्धी कसूरमा ३५ दिनभित्र उजुरी दिइसक्नुपर्ने साइबर ब्यूरोका अधिकृतहरु बताउँछन् । त्यसपछि आएको उजुरीमाथि कानुनी प्रक्रिया अगाडि बढाउन नमिल्ने उनीहरुको भनाइ छ । तर, प्रहरीले डेढ वर्षपछि पनि जाहेरी लिएर पाठकलाई समातेको हो । बस्नेतको दबाबमा आफूविरुद्ध जाहेरी लिइएको पाठकको आरोप छ ।
एक समय लिभिङ टुगेदरमा बसेका बस्नेत र पाठकबीच पछिल्लो समय आरोप–प्रत्यारोप चलिरहेको छ । गुप्तरुपमा अघि बढेको सम्बन्ध बाहिर आएपछि शुरु भएको विवाद मुद्दा–मामिलाको तहमा पुगेको देखिन्छ ।
टिप्पणीहरू