खाली चेक भिडाएकी नुवाकोटकी अम्बिका भैंसेपाटीमा
बैंक खातामा पैसा नभएको थाहा हुँदाहुँदै झुक्याएर खाली चेक भिडाएकी एक महिला समातिएकी छन् । बैंकिङ कसूर मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार नुवाकोटको विदुर नगरपालिका–११ की ४१ वर्षीया अम्बिका बुढाथोकीलाई प्रहरीले आज पक्रेको हो ।
सिद्धार्थ बैंकको मौज्दात नभएको खाताबाट भुक्तानी दिन चेक लेखेको आरोपमा उनलाई आज प्रहरीले समातेको हो । यसअघि गत कात्तिक २३ गते उनलाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले १७ लाख ४२ हजार ८ सय ७७ रुपैयाँ जरिवाना र ६ दिन कैद सजायको फैसला गरेको थियो । त्यसयता बुढाथोकी फरार थिइन् ।
प्रहरीले उनलाई झण्डै चार महिनापछि ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत ललितपुरमा बुझाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ ।
टिप्पणीहरू