महिनावारी कप कत्तिको सुरक्षित ?

महिनावारी कप कत्तिको सुरक्षित ?

साधारणतयाः १२ देखि १५ वर्षको उमेरमा किशोरीहरु महिनावारी हुन्छन् । महिनावारी भनेको महिलाको शरीरमा हुने परिवर्तन पनि हो । हरेक २८ दिनको अन्तरमा महिलाहरु महिनावारी हुन्छन् । महिनावारी हुनु महिलाहरु गर्भवती हुन तयार भएको संकेत हो ।

नेपालमा अझै पनि यस्ता थुप्रै जिल्ला छन् जहाँ महिनावारीवारे कुरा गर्नसमेत लाज मान्छन् । महिनावारी हुँदा अहिले पनि टालोको प्रयोग गर्दछन् । आफ्नो स्वास्थ्यलाई जोखिममा राख्दै उनीहरुले टालो प्रयोग गरेको जनस्वास्थ्यविद्हरु बताउँछन् । पछिल्लो समय प्याड,महिनावारी कप, टेम्पोनलगायत साधनहरु बजारमा आए पनि अझै उनीहरुको पहुँचमा छैन ।

महिनावारीको बेला प्रयोग हुने स्यानिटरी प्याड एकदमै झण्झटिलो र सर्वत्र नपाइने भएकाले अहिलेका किशोरीहरु महिनावारी कपतिर आकर्षित भइरहेका छन् । आधुनिकतातिर बढिरहेको शहरी क्षेत्रमा महिनावारी कप र टेम्पोनको प्रयोग बढ्दो छ । विश्वका विभिन्न मुलुकमा महिनावारी कप र टेम्पोन प्रयोगमा आएको वर्षौं बितिसके पनि नेपालमा यसको प्रयोगबारे अधिकांशलाई थाहा छैन ।

“स्यानिटरी प्याड एकदमै झण्झटिलो र सर्वत्र नपाइने भएकाले अहिलेका किशोरीहरु महिनावारी कपतिर आकर्षित भइरहेका छन् ।”

महिनावारीमा यी साधनको प्रयोग गर्नेलेसमेत यसले निकै सहज पारेको बताउँछन् । एकाध पटक प्रयोग गरेकाले बानी नपरुञ्जेललाई गाह्रो भएको बताएका छन् । ‘प्रयोगमा सरल र सस्तो छ,’ उनीहरुको भनाइ छ । एउटा महिनावारी कपलाई करिब पाँच वर्षसम्म प्रयोग गर्न मिल्ने चिकित्सकहरु बताउँछन् । यस्तो कप करिब १२ घण्टासम्म निरन्तर प्रयोग गर्न सकिन्छ ।

घण्टौसम्म पनि फेर्न नपर्ने भएपछि अहिलेका युवापुस्ता र किशोरकिशोरीमा यसको लोकप्रियता बढ्दै गएको छ । महिनावारीको समयमा सरसफाइलाई निकै ध्यान दिनुपर्ने भएकाले पनि यो निकै सुरक्षित भएको बताइन्छ । यसले महिनावारीको रगतलाई बाहिर निस्किन दिँदैन । जसका कारण खटिरा आउने,पाछिनेजस्ता जोखिम निकै कम हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

बजारमा विभिन्न किसिमका महिनावारी कपहरु पाइन्छन् । तीमध्ये मुन कप,कीपर कप, लेना कप,लिली कप आदि बढी प्रयोगमा आएको छन् । महिनावारी कप वातावरणमैत्री भएको प्रयोगकर्ताहरुको अनुभव छ । यस्ता कपले पर्यावरणलाईसमेत प्रदुषित नबनाउने उनीहरुको विश्वास छ । अहिले प्रचलनामा रहेका स्यानिटरी प्याडमा प्लास्टिकको प्रयोग भएकाले जहाँ पायो त्यहाँ फाल्दा वातावरणमा असर पुग्ने निश्चित छ ।

महिलाको स्वास्थ्य स्वच्छतालाई ध्यानमा राख्दै महिनावारी कप बनाइएको भनिन्छ । रबर र सिलिकनले बनेका यस्ता कपहरु निकै लचिलो हुन्छन् । सन् १८६० देखि १८७० को दशकमा संयुक्त राज्य अमेरिकामा यसको विकास भएको हो । तर,पूर्ण प्रयोग भने १९३७ बाट मात्र भएको थियो ।

अन्य मुलुकमा महिनावारी कपको प्रयोग गरेको शताब्दी बितिसक्दा नेपालले यसबारे भने बल्ल थाहा पाउँदै छ । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका सिनियर कन्सल्टेन्ट कीर्तिपाल सुवेदीले प्याडको तुलनामा कप निकै सुरक्षित हुने बताउनुभयो । उहाँले सबै उमेर समूहको लागि कप उपयुक्त हुने जानकारी दिनुभएको छ । ‘यो निकै नरम हुने भएकाले घाउ हुने,चोट लाग्ने सम्भावना कम छ,’ उहाँको भनाइ हो यो ।

महिनावारी कपको प्रयोग कसरी गर्ने ?

महिनावारी कपको प्रयोग गर्नुअघि आफ्नो हात सफासँग धुनुपर्छ । त्यसपछि कपलाई फोल्ड गरेर आफ्नो यौनाङ्गमा थपक्क राख्नुपर्छ । त्यहाँ राखेपछि दोब्राएको कप आफैं खुल्न गई रगत नचुहिने गरी सिल भएर बस्छ । सिल हटाउनको लागि कपको तल्लो भाग हल्लाएर तान्नुपर्छ । बानी नपरेसम्म असहज भए पनि पछि बिस्तारै सजिलो हुने कन्सल्टेन्ट सुवेदी बताउनुहुन्छ । साथै,कपको प्रयोग बारेमा त्यसको प्याकेटभित्र पनि निर्देशन दिइएको हुन्छ । त्यही निर्देशन पढेर पनि यसबारे थाहा पाउन सकिन्छ । औषधि बिक्रेताले यसको प्रयोगबारे सिकाउने गर्दछन् ।

कसलाई कुन कप उपयुक्त ?

महिनावारी कप खरिद गर्नुअघि आफ्नो साइजबारे थाहा पाइराख्नुपर्छ । बजारमा सानो, मझौला र ठूला साइजका कपहरु पाइन्छन् । उमेर समूह हेरेर कप खरिद गर्दा ठीक हुने चिकित्सकहरु बताउँछन् ।

कप कसरी सफा गर्ने ?

हरेक ८ देखि १२ घण्टाको फरकमा कप फेरिरहनुपर्छ । रगतले भरिएको कप पहिले पखाल्नुपर्छ । त्यसपछि ५ देखि १० मीनेट यसलाई तातोपानीमा उमाल्नुपर्छ । यसरी उमालेपछि सुख्खा बनाएर सुरक्षित स्थानमा राख्नुपर्छ । त्यही कप अर्को पटक महिनावारी हुँदा प्रयोग गर्न सकिन्छ ।

मूल्य कति पर्छ ?

चिकित्सकहरुका अनुसार बजारमा सात सयदेखि तीन हजार रुपैयाँसम्मको महिनावारी कप पाइन्छन् । ब्राण्ड र चल्ने अवधिको आधारमा कपको मूल्य तोकिएको उनीहरुको भनाइ छ । कतिपयलाई प्याडको तुलनामा कप मँहगो लाग्न सक्छ । तर,यो धेरै वर्षसम्म प्रयोग गर्न सकिने भएकाले सस्तो पर्न जाने उपयोगकर्ताहरुको हिसाब छ ।

अहिलेका किशोरीहरुले महिनावारी कपसँगै टेम्पोनको पनि प्रयोग गर्छन् । तर, चिकित्सकहरुले टेम्पोनको प्रयोग नगर्न सुझाएका छन् । टेम्पोन प्रत्यक्षरुपमा छालासँग जोडिने भएकाले यसले खटिरा आउने, यौनाङ्ग वरपर संक्रमण हुनेजस्तो खतरा देखापर्ने गरेको बताइन्छ ।

टिप्पणीहरू