रवि र सूर्य थापा रातारात किन छिरे बालकोट ?

रवि र सूर्य थापा रातारात किन छिरे बालकोट ?

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन भइसक्दा पनि पद नछोडेर नैतिकता शब्दकै हुर्मत लिएका गृहमन्त्री रवि लामिछानेको अर्को शंकास्पद दौडधुप शुरु भएको छ । अप्ठेरो पर्नासाथ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सल्लाह लिने गरेका उनी छानबिन समितिले काम थालेलगत्तै रातारात दौडिएर बालकोट पुगेका हुन् । 

गत शुक्रबार छानबिन समितिको दोस्रो बैठकअघि बिहीबार राति साढे ७ बजेतिर लुसुक्क बालकोट छिरेका रविले त्यहाँ झण्डै दुई घण्टा बिताएको बुझिएको छ । एमालेसम्बद्ध स्रोतकाअनुसार समिति संयोजक रहेका एमाले सांसद सूर्यबहादुर थापा पनि त्यसबखत बालकोटमै थिए । छुट्टा–छुट्टै समयमा ओलीनिवास पुगेका उनीहरू अध्यक्षसँग कुराकानी सकेर त्यसैगरी बाहिरिए । 

जानकार स्रोतका अनुसार संसदीय समितिमा विपक्षी दलका सांसदहरू कडीकडाउ रूपमा प्रस्तुत हुने चाल पाएपछि काउण्टर रणनीति बनाउन उक्त जमघट भएको हो । रविलाई साक्षी राखेर आफ्ना अध्यक्षसँग राय–परामर्श लिएका सभापति थापा बालकोट लाइनअनुसार शुक्रबारको बैठकमा प्रस्तुत भएको बताइन्छ । 

एमाले अध्यक्ष ओली शुरुदेखि नै रविको बचाउमा खरो ढंगले प्रस्तुत हुँदै आउनुभएको छ । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायत विभिन्न सहकारी संस्थामा बचत हिनामिना गरेको आरोप लागेका रविको नाम किटेर संसदीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको माग उहाँकै चट्टानी अडानका कारण असफल भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लचकताका कारण समिति गठन त भयो, तर त्यसले बहालवाला गृहमन्त्रीमाथि वस्तुनिष्ठ अनुसन्धान गरेर प्रतिवेदन दिने विश्वास गरिएको छैन । सहकारी ठगीमा संलग्नहरूलाई ‘क्लिनचिट’ दिएर यो मुद्दा त्यसै ढिसमिस’ हुनसक्ने आशंका भैरहँदा समितिका सभापति र गृहमन्त्री रातारात बालकोट पुगेपछि थप शंका पैदा भएको छ । 

सर्वसाधारण नागरिकले आफ्नो गाँस काटेर जम्मा गरेको अर्बौं रकम कानुन मिच्दै गोरखा मिडिया नेटवर्कमा लगिएको थियो । त्यसबखत उक्त मिडियाको प्रवन्ध निर्देशक रहेका लामिछानेले विभिन्न सहकारीबाट ऋण लिएर टिभीमा लगानी गरेको प्रमाण सिआइबी र पोखरा महानगरको अनुसन्धानबाट धेरै पहिले खुलेको हो । तर, एमाले अध्यक्षका कारण उनको नाम उल्लेख गरेर छानबिन समिति बन्न सकेन । 

त्यसो त, यस प्रकरणमा ओलीको भूमिकाप्रति एमालेकै कतिपय नेताहरू असन्तुष्ट देखिएका छन्् । ‘सहकारीका लाखौँ बचतकर्ताको निक्षेप सुरक्षाका लागि पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने हो,’ दोस्रो तहका एक नेता भन्छन्, ‘उल्टै गरिबको पसिनामा मोजमस्ती गर्नेहरूलाई संरक्षण गरेको आरोप पार्टीले बोक्नु परेको स्थिति छ । यसप्रति अध्यक्ष गम्भीर हुनु आवश्यक छ ।’

सहकारी प्रकरण छानबिनमा एमाले अध्यक्षको उदासिनतालाई कतिपयले चैं रविका नाममा आफू जोगिने रणनीति पनि भनेका छन् । किनभने सहकारीमा एमालेको बलियो पकड छ । त्यसमध्ये थुप्रै समस्याग्रस्त सहकारी संस्थामा एमाले नेताहरू जोडिएका छन् । त्यसकारण प्रभावकारी छानबिन हुँदा आफ्नै कार्यकर्ता डामिने भएपछि यस मामलामा ओली कठोर बनेको एकथरीको अनुमान छ । 

भ्रष्टाचारका पुराना थुप्रै फाइल खोल्छु भन्ने रवि गिरीबन्धुको भने नामै उच्चारण नगर्ने, अनि ओली चैं सहकारीको कुरा सुन्नै नसक्ने– अनौपचारिक कुराकानीमा एमालेका प्रभावशाली नेताहरू नै प्रश्न गर्छन्, ‘यात्रा मान्छेको बिचल्ली हुनेगरी भएको सहकारी ठगीका आरोपितलाई जोगाउन उहाँ किन लाग्नुभयो ?’

त्यसो त, ओलीले रवि बोकेको यो नै पहिलो पटक भने होइन । नागरिकता किर्ते र राहदानी दुरूपयोगको आरोप लाग्दा पनि उहाँ रविको बचाउमा उत्रिनुभएको थियो । नागरिकता किर्तेमा सर्वोच्च अदालतले दोषी ठहर गर्दा पनि संसदको रोष्ट्रमबाटै सक्दो संरक्षण गर्नुभएकै हो । एउटा प्रमुख पार्टीको शक्तिशाली नेता, तीनपटक प्रधानमन्त्री भैसकेको अनि भविष्यमा पनि प्रधानमन्त्री हुने लाइनमा रहेको व्यक्ति सहकारी ठगीजस्तो गम्भीर मुद्दाका आरोपितको बचाउमा खुलेर लाग्नु सामान्य विषय पक्कै होइन । भनिँदै छ, यसका पछाडि अहिलेको सत्ता जोगाउनेदेखि अर्को चुनावसम्मका अन्तरकथा जोडिएका छन् । 

एमालेकै एकथरीले चैं ओली–रवि साँठगाँठलाई झापा–५ सँग जोडेर हेरेको पनि पाइन्छ । पछिल्ला दुईवटा चुनावमा राप्रपाको भोट थपेर ओलीले जितेको क्षेत्र हो– झापा–५ । ०७४ मा उहाँले माओवादीको समेत भोट पाउनुभएको थियो । त्यसको बदलामा क्षेत्र नम्बर ३ मा एमाले मतदाताले हलोमा भोट खन्याएर राजेन्द्र लिङ्गदेनलाई दुबैचोटी संसदमा पठाए ।

तर, यो सहकार्य चुनावको परिणाम सार्वजनिक भएसँगै टुट्ने गरेको छ भने अहिले लिङदेन विपक्षी खेमामा छन् । राजनीतिक परिस्थिति यही रूपमा अघि बढे आगामी निर्वाचनमा यी दुई दलको तालमेल हुने सम्भावना रहँदैन । त्यसकारण राप्रपाको विकल्पका रूपमा गत चुनावमा १० हजार बढी मत ल्याएको रास्वपा ओलीको नजरमा परेको बताइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू