हेटौँडा भित्रिँदै गरेको लागूऔषधसहित दुई भारतीय पक्राउ
हेटौँडा भित्र्याउन लागिएको अवस्थामा ठूलो परिमाणको लागूऔषधसहित दुई जना भारतीयलाई मकवानपुर प्रहरीले पक्रेको छ । मंगलवार राति जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौँडा-१५ रातमाटेबाट अटोमा राखेर भित्र्याउने क्रममा रहेको लागू औषध डाइलक्स डिसी १७३ बोतल बरामद गरेको हो ।
पथलैयाबाट हेटौँडा आउने क्रममा रहेको ना १ ह ९४५० नं. को अटोलाई रोकी चेकजाँच गर्ने क्रममा अटो चालक भारतको रक्सौल पूर्वी चम्पारण बस्ने वर्ष ३० को अरविन्दकुमार पाण्डे र सोही स्थानकी वर्ष २६ की अमिता साहले लुकाई छिपाई ल्याएको १७३ बोतल लागुऔषध बरामद गरिएको हो ।
पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालतमा पेश गरी १० दिन म्याद थप र अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायव उपरिक्षक जयइश्वर रिमालले बताउनुभयो ।
टिप्पणीहरू