बम राखेको आरोपमा सुरक्षा परिषद्का व्यक्ति समातिए

बम राखेको आरोपमा सुरक्षा परिषद्का व्यक्ति समातिए

सार्वजनिक स्थानमा बम राखेर आतंक फैल्याएको आरोपमा झापामा नाै जना समातिएका छन् । दमक र बिर्तामोडको सार्वजनिक स्थानमा प्रेसर कुकर बम राखेर आतंक फैलाएको भन्दै प्रहरीले उनीहरुलाई समातेको हो ।

पक्राउ पर्नेमा गौरादह-२ का ३८ वर्षीय सुमनकुमार कार्की, कनकाई-३ का ४१ वर्षीय भीष्म थापा, दमक-९ की ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई-३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी-१ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, संखुवासभा खाँदवारी–१० घर भई मोरङ सुन्दर हरैचा बस्ने २९ वर्षीय मनोमहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५ का ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई छन् ।

पक्राउ परेकामध्ये सुमनकुमार कार्की मुख्य अभियुक्त हुन् भने कनकाई–४ स्थित कोटीहोमका पुजारीसमेत रहेका सिटौलाले भीष्म थापालाई मोटरसाइकल किनिदिने प्रलोभन देखाएर बम राख्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कार्की विगतमा वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा दुई वर्ष जेल परेका थिए । उनको साथबाट प्रहरीले हिमाल सुरक्षा परिषद्को पर्चा, पम्प्लेट, स्ट्याम्प, चन्दा माग्ने गरेको सिमकार्ड, आर्थिक संकलनका लागि लेखिएको पत्रसमेत फेला पारेको छ ।

विगतमा गोरखा जनमुक्ति पार्टीको नाममा अपराधिक गतिविधि गर्दै आएका उनीहरू हाल हिमाल सुरक्षा परिषद्को नाममा संगठित भएर विभिन्न ठाउँमा बम राखेर चन्दाका लागि आतंक फैलाउँदै आएका थिए । पक्राउ परेकालाई विष्फोटकसम्बन्धी कसूरमा जिल्ला अदालत झापाबाट म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू