एमसीसीविरोधी आन्दोलनप्रति अमेरिकाको कठोर टिप्पणी
संयुक्त राज्य अमेरिकाले आफ्नो सहयोग परियोजना एमसीसी सम्झौताका विरुध्द नेपालमा भैरहेका आन्दोलनप्रति कठोर टिप्पणी गरेको छ । एमसीसीविरुध्दको आन्दोलनका नाममा हिंसा भड्काउने विचार स्वीकार्य नहुने उसको चेतावनी दिएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो । एमसीसीलाई लिएर नेपालभर सडक प्रदर्शन भइरहेका बेला अमेरिकाले आफ्नो कडा धारणा सार्वजनिक गरेको हो ।

अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको समर्थक रहेको र एमसीसीको विषयमा पनि सोही धारणा रहने दूतावासको भनाइ छ ।
‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो । आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्,’ काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।
टिप्पणीहरू