सालक जोगाउने युवा संकल्प
लोपोन्मुख सालकको संरक्षणमा उदयपुरका विद्यार्थीहरु अग्रसर भएका छन् । उनीहरुले हिजो कटारीमा लोपोन्मुख सालकको संरक्षणमा जनचेतनामूलक कार्यक्रम गरेका हुन् । विश्व सालक दिवसको अवसर पारेर वन्यजन्तु संरक्षण समाज कटारीमा अभियन्ता र प्राकृतिक स्रोत व्यवस्थापन कलेजका विद्यार्थीले उक्त कार्यक्रम गरेका थिए ।
कार्यक्रममा सालक नेपालको संरक्षित जनावर भएको र वासस्थान विनाश र अवैध चोरी शिकारीका कारण लोप हुँदै गएको जानकारी गराइएको थियो । उदयपुरका विभिन्न जंगलमा पाइने लोपोन्मुख सालक हाल लोप हुँदै गएको सीतापोखरी सामुदायिक वन उपभोक्ता समूह कटारी २ का अध्यक्ष रामप्रसाद गौतमले बताए ।
विश्वमा पाइने ८ प्रजातिका सालकमध्ये नेपालमा दुई प्रकारका तामे र कालो जातका मात्र पाइन्छन् । सो अवसरमा जनचेतनामूलक र्यालीसहित,पर्चा पम्प्लेट टाँसी जनचेतनामूलक भिडियो देखाइएको वन्यजन्तु संरक्षण समाज कटारीका संयोजक विशाल भण्डारीले जानकारी दिए । समाजले उदयपुरमा सालकबारे अध्ययन र अनुसन्धानसमेत गरिरहेको छ ।
नेपालमा यी सालक चुरे पहाडको छेउछाउ तथा महाभारत श्रृखंलाका भित्री खोंचहरुमा पाइन्छ । सालक किसानको साथी भएको दाबी डिभिजन वन कार्यालय त्रिवेणीका प्रमुख फणिन्द्र पोखरेलले बताए । किसानको साथी भए पनि अहिलेसम्म यसको संरक्षणका लागि वन कार्यालयले बजेटको अभावमा केही गर्न नसकेको पोखरेलले जानकारी दिए ।
नेपालमा उदयपुरबाहेक धादिङ, काभ्रेपलाञ्चोक,गोर्खा,रामेछाप, संखुवासभा र सिन्धुलीमा सालक पाइन्छ । समाजले गरेको अध्ययन अनुसन्धानअनुसार सरोकारवाला निकाय वन समूह तथा वन कार्यालयकोसमेत ध्यान नजाँदा सालक संरक्षणमा चुनौती देखिएको छ ।

टिप्पणीहरू