एमसीसी टेबल गर्ने जिम्मा अहिलेका अर्थमन्त्रीबाट पहिलेका अर्थमन्त्रीलाई

एमसीसी टेबल गर्ने जिम्मा अहिलेका अर्थमन्त्रीबाट पहिलेका अर्थमन्त्रीलाई

विभागीय मन्त्रीको हैसियतले अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबल गर्न नमानेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सोसम्बन्धी जिम्मा तोक्नुभएको छ ।

सत्तारुढ गठबन्धन दलबीच एमसीसी संसदमा टेबुल गर्ने सैध्दान्तिक सहमति जुटेसँगै देउवाले आफ्ना विश्वासपात्र कार्कीलाई प्रस्ताव पेश गर्ने जिम्मेवारी दिनुभएको हो । नियमतः विभागीय मन्त्री शर्माले नै एमसीसी संसदमा टेबुल गर्नुपर्ने हो । तर,गत बुधबार बसेको सत्तारुढ दलको बैठकमा शर्मा ढिला आएकाले प्रधानमन्त्री देउवाले सरकारको प्रवक्तासमेत रहेका कार्कीलाई टेबुल गर्न निर्देशन दिनुभएको बताइएको छ ।

कार्की अर्थमन्त्री भएकै बेला अमेरिका भ्रमणका क्रममा एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो । एमसीसीको वकालत गर्दै आउनुभएका कार्कीलाई नै देउवाले प्रस्ताव टेबल गर्ने जिम्मा दिएपछि अर्थमन्त्री शर्मा भने आजको संसद बैठकमा अनुपस्थित हुने सम्भावना रहेको बताइन्छ ।

एमसीसीलाई आजको प्रतिनिधिसभाको कार्यसूचीमा राख्ने कि नराख्ने भन्ने विषयमा छलफल गर्न संघीय संसद् भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । तर,सो बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने सहभागी भएन ।

टिप्पणीहरू